शनिबार २३ फाल्गुण २०८२
अन्तर्वार्ता

वार्ता पक्षमा पार्न विषयलाई तथ्यपरक र दम्दार ढङ्गले प्रस्तुत गर्न सक्नु पर्दछः सभापति राई

शनिबार फाल्गुण २१, २०७८/ Saturday 03-05-22

गोर्खाहरुको समस्या समाधानका लागि त्रिपक्षीय वार्ताको तयारी भइरहेको छ । वार्ताकैलागि गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राईले सवै गोर्खा भूपूजन्य संस्थाहरुबिच सहकार्य र कार्यगत एकतालाई जोड दिनुभएको छ ।

यसै सेरोफेरोमा रहेर हाल वार्ताकालागि वेलायत पग्नुभएका सभापति राईसँग देश दैनिकले फोन मार्फत गरेको कुराकानी जस्ताको त्यस्तै प्रस्तुत छ ।  

१) हिजो तपाईंहरुको राजदूतावासमा भेटघाट थियो भन्ने सुन्नमा आएको छ, खासमा त्यो भेटघाट कस्तो थियो ? 

-प्रश्नका लागि धन्यवाद! हिजो नितान्तै नयाँ महामहिम राजदूतज्युसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम थियो । यद्धपी वार्तासम्वन्धी अनौपचारिकरुपमै भएपनि केही छलफलहरु भयो । 

२) वार्तासम्वन्धी छलफल भयो भन्नु भयो, के के छलफल भयो खुलाउन मिल्छ ? 

-छलफल मुख्य त वार्ता समितिको बारे नै थियो । वार्तामा हुन सक्ने तथा उठ्न सक्ने विषयहरुमा के कसरी प्रस्तुत हुने भन्ने बारे केन्द्रित थियो । 

३) वार्तामा गोरखाहरुबाट कुन-कुन संघ-संस्था र संस्थाका व्याक्तिहरु सहभागि हुने कार्यक्रम रहेको छ ? 

-मुख्य त नेपाल सरकारका तर्फबाट ३ जना, वेलायत सरकारको तर्फबाट ३ जना र गोरखाहरुको तर्फबाट ३ जना रहने भनिएको छ । गोरखाहरुको तर्फबाट सहभागि हुने ३ जनामध्य १ जना मेजर जुद गुरुङ्गको नाम सहमति भइसकेको छ । बाँकी २ जनापनि नेपाल सरकारलाई प्रस्तावितरुपमा नाम पठाईसकेका छौं, यसबारे सरकारले चाँडै नाम सार्वजनिक गर्ने छ भन्नेमा विश्वस्त छौं । तथापि हिजोको परिचयात्मक भेटघाटमा छलफल भएअनुसार विषयगत विषयमा प्रस्तुतिको लागि राजदूतावास लण्डनमा पूर्व महामाहिम राजदूत लोकदर्शन रेग्मीद्वारा गठित निर्देशक कमिटिबाट नै प्रतिनिधी भएर वार्तामा बस्ने निचोडमा पुगेका छौं । 

४) ऐतिहासिक वार्ता र सम्वादका लागि अवसर प्राप्त भएको छ, यसको प्रतिफल समस्त गोरखाहरु र नेपालीहरुको पक्षमा हुने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ? 

-वार्ता भनेको सम्झौता पनि हो र वार्ता पक्षमा पार्नका लागि प्रस्तुत विषयहरुमा हाम्रो तर्फबाट प्रस्तुत गर्दा तथ्यपरक, दम्दार ढङ्गले प्रस्तुत गर्न सक्नु पर्दछ । त्यसका लागि हरेक विषयहरुमा नेपाल सरकारको प्रतिनिधि र निर्देशक कमिटिबिच सघन र गम्भिर छलफल हुन जरुरी छ । त्यस्तै हाम्रो तर्फबाटपनि दम्दार प्रस्तुति र एउटै आवाज हुन जरुरी छ । वेलायतका पक्षबाट उठाएका हरेक विषयहरुलाई दम्दार र गम्भिर्यताका साथ खण्डन र प्रतिवाद गर्नको लागि पनि विषयगत रुपमा गम्भिर र सघन गृहकार्य गर्न आवस्यक छ । अहिले हामी यसैमा केन्द्रित हुँदै अघि बढीरहेका छौं ।

हस! समय र जानकारिका लागि यहाँलाई धन्यवाद । 

मेरो केही कुरा राख्न दिनुभएकोमा यहाँलाई र देश दैनिक डटकमलाई पनि विशेष धन्यवाद ! 


 

तपाईको प्रतिक्रिया