
ललितपुरको हरिसिद्धि नेपाल सम्वत ५७९ मा राजा अमर मल्लले ब्यवस्थित ढंगमा निर्माण गरेको बताइन्छ । तान्त्रिक पद्धतिअनुसार देविहरुको शक्ति ल्याएर जलदेश (हालको हरिसिद्धि) मा राखेको र तिनै शक्तिलाई देविका रुपमा उतारेर हरिसिद्धि नृत्यको सुरुवात गरिएको मानिन्छ ।
ब्रम्हाको शक्तिबाट ब्रम्हायणी, विष्णुको शक्तिबाट वैष्णवी र रुद्रको शक्तिबाट रुद्रायणी शक्ति तयार गरी यिनै त्रिशक्ति देविको आराधना गर्न यो नृत्य प्रचलनमा ल्याइएको हो । यि त्रिशक्तिदेविका अतिरिक्त काठमाडौं उपत्यकामा रहेका अन्य शक्तिपिठहरुबाट प्रतिनिधि शक्तिहरु छनोट गरी एउटा गण नृत्यको विकास गरियो, त्यही गण नृत्य नै हरिसिद्धि नृत्य भएको हरिसिद्धिका स्थानीय बताउछन् ।
राजा योग नरेन्द्र मल्ल देखि योगेन्द्र मल्ल, सिद्धिनरसिंह मल्ल, प्रताप मल्ल, श्रीनिवास मल्ल, महेन्द्र मल्ल, रत्न मल्ल, वरदेव मल्ल र लिच्छिवि राजा नरेन्द्र देव लगायत हरिसिद्धि देविको भक्तका रुपमा चिनिएका थिए । नेपाल सम्वत ७७३ तिरको कुरा हो राजा प्रताप मल्लको हरिसिद्धि गण नृत्य हेर्दाहेर्दै मृत्यु भएको थियो ।
यो नाच बार्षिक रुपमा नचाइने चलन भएकोमा नेपाल सम्वत ५७९ मा राजा अमर मल्ले उपत्यकाभित्र नचाउने गरी १२ वर्षे प्रचलन चलाएपछि बीचमा खण्डित हुन गएर हरिसिद्धि नाच कायम हुन गएको देखिन्छ । हरिसिद्धिमा उनले नै बहुतले मन्दिर बनाउन लगाए पछि फेरि नाचको प्रचलन हराये र अन्तमा राजा प्रताप मल्लले सन् १६५३ मा नाचलाई स्थायी बनाएका थिए ।
१२ वर्षको जात्रामा यो नाच उपत्यकाका विभिन्न ठाउँ जस्तै ललितपुरका २५, पूर्वी दोलखा, धुलीखेल, पनौति, साँगा, भक्तपुर, पशुपति देवपाटन, काठमाडौं हनुमानढोका दरबार चोक, फर्पिङ, पश्चिम किर्तिपुर, पाँगा, दक्षिणमा ठेचो, खोकना, ठैब लगायतका स्थानहरुमा हरिसिद्धि नाच देखाउने चलन थियो ।
यस जात्रा र नृत्यको लागि पहिले सरकारको तर्फबाट सहयोगहरु हुने गरेतापनि गणतन्त्र स्थापना पस्चात उक्त सहयोग बन्द भएको छ । जसले गर्दा नाच बाहिर लगेर देखाउन नसकिने अवस्था भएको हो । भाषा वंशावली, देवमाला वंशावली, गोपाल वंशावली, हरिसिद्धि पुराण तथा वंशावलीमा उल्लेख अनुसार संसारको सबैभन्दा राम्रो भाव नृत्य भएको उल्लेख छ ।
एक दिन मनाउने यस जात्रामा पहिलो चरण विहानको समयमा नाटेश्वर महादेवको स्थानमा हरिसिद्धि देवीको स्मरण गरी भक्तिपुर्वक बाध्यवादन (द्योग ल्हायगु) गरी हरिसिद्धि मन्दिर अगाडि पुग्छन् । पालैसँग नाचेर मन्दिर माथि जान्छन् । त्यसपछि अदृश्य नाच सुरु हुन्छ । यस नाचमा बाजाहरु भुस्या, प्वङ्गा, डमोखि, ताँः बजाउछन् । यसरी विभिन्न तालमा बाजा बजाउन सुरु हुन्छ, यतिबेला अगाडिको डबलीमा कोहि पनि जाँदैनन्, किनकि यस समयमा स्वयम हरिसिद्धि देवि नाच्ने जनविश्वास रहेको छ ।
त्यसपछि तमनारिश्व महादेवको नाच सुरु हुन्छ । यस समयमा निसन्ताले आफ्नो सन्तान प्राप्तिको लागि ब्रत बसि पूजा गर्ने गरेमा सन्तान प्राप्त हुने जनविश्वास रहेको छ जसअनुरुप ब्रत बस्न र पूजा-आराधना गर्न भनि विभिन्न ठाउँबाट ब्रतालुहरु समेत आउने गर्छन् ।
यसै चरणमा राधाकृष्ण, ब्रम्हाजू (स्वस्थानी) अनुसार नवराज गंगा स्नान, तर्पण गरेको अवस्था, गजानन्द हरिहर महादेवको रुपमा आएर नवराजलाई अभिषेक दिएको, मञ्जुश्रीले फूचोमाजु, धिनाचो माजुको शक्ति प्राप्त गरेर काठमाडौं उपत्यकाको पानी बाहिर पठाएको दृष्य पनि देख्न सकिन्छ, भने अग्नि देव र महादेवको नाच सुरु हुन्छ । यस नाचमा अग्निदेवताको रुपमा भष्मासुरुलाई देखाइन्छ । महादेवले भष्मासुरलाई जे छोएपनि भष्म हुने बरदान दिएपछि महादेवलाई लखेटेको नृत्य देखिन्छ ।
यसपछि विक्रामादित्यको नाच सुरु हुन्छ, जसमा विक्रमादित्यले उज्जैन नगर पराश्त गरेर चक्रवति राजा बनेको झलक दिइन्छ । चार दिशाको राजा र विक्रमादित्य राजाबीचको युद्ध भाव झलक प्रस्तुत पछि खाना खानको लागि विश्राम लिइन्छ । विश्राम पश्चात मध्यान्हको नाच शुरु हुन्छ ।
मध्यान्हको समयमा डुन्डुबी राक्षसको रामचन्द्रले संघार गर्न नसकेपछि हरिसिद्धि देविको पुकार र सहयोगले राक्षसको संघार गरेको दृष्य साथै हनुमानले राम र सुग्रीवको मित्रता कायम गरेको नृत्य गरीन्छ । यो समयमा हनुमान, राम र सुग्रीवले एउटै तालमा फरक-फरक नृत्य प्रस्तुत गर्छन् । यस पश्चात करिब दुई घण्टाको विश्राम हुन्छ । उक्त विश्राम पछि रावणको संघारको नृत्य सुरु हुन्छ ।
यस नृत्यमा रावणको श्रीमति ताराले युद्धमा नजान र नर्गन गरेको विलापलाइ नकार्दै युद्धमा गएको दृष्य, रामचन्द्रले जति बाण प्रहार गरेतापनि रावणको संघार गर्न नसकेपछि सुग्रीवले हरिसिद्धि भवानीको मूल शक्ति महाकालीको खड्ग शक्ति प्राप्त गरेर रावणको संघार गर्न सफल भएको दृष्य देखाइन्छ ।
यो नृत्य सकेपछि भाकल बलि आह्वान गरिन्छ । यसरी रावणको संघार भएको खुशीयालीमा पशुको पञ्चबलि हरिसिद्धि भवानिलाई चढाइन्छ । यस पछि बेताल भैरवको नाच सुरु हुन्छ ।यस नाचमा युद्धमा भएका लास र रगतहरुलाई पृथ्वीमा दबाएर पृथ्वीलाई शान्त पारेको अवस्थाको दृष्य देखाइन्छ । अन्तिममा सुग्रीवलाई राज्य हस्तान्तरण गरेर जात्रा सकाइन्छ ।
हरिसिद्धि देवीलाई देशको रक्षार्थ जलवृष्टि गरी सहकाल भित्र्याउने तथा समाजको कल्यान गर्न दैत्यहरुको अन्त्य गर्ने देवताको रुपमा पूजा तथा पुकार गरीन्छ । त्यसैले नेपालको पशुपति, मच्छिन्द्रनाथलाई जस्तै हरिसिद्धिलाई पनि ठूलो मान्यता दिएर जग्गा गुठी ब्यवस्था गरिएको छ ।
स्थानियको सहयोगमा
तपाईको प्रतिक्रिया