बिहीबार २७ भदौ २०८१
बिजनेस

आजदेखि हिमालयन हाइड्रो एक्स्पो शुरु

बुधबार बैशाख १२, २०८१/ Wednesday 04-24-24

काठमाडौं ।  चौथो हिमालयन हाइड्रो एक्स्पो शुरु भएको छ।​ बुधवारबाट काठमाडौंमा तीन दिने हिमालयन हाइड्रो एक्स्पो शुरु भएको हो।

एक्स्पोको उद्घाटन उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले गरे। हिमालयन हाइड्रो एक्स्पोको उद्घाटनको अवसरमा स्काई टावरदेखि विद्युतीय सवारीसाधनहरुको र्‍याली भएको छ।

र्‍यालीमा ३ सयभन्दा बढी विद्युतीय सवारीसाधनहरु रहेका छन्। स्काई टावरबाट बानेश्वर हुँदै कोटेश्वर, सातदोबाटो, एकान्तकुना, कुपण्डोल, लैनचौरबाट प्रधानमन्त्री कार्यालय घुमेर भृकुटीमण्डपमा आएर र्‍याली सम्पन्न हुने र एक्स्पोका अन्य कार्यक्रमहरु शुरु हुने आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहको संस्था (इप्पान) ले जनाएको छ।

एक्स्पोको उद्घाटन गर्दै ऊर्जामन्त्री बस्नेतले सरकारले आयोजना गरेको लगानी सम्मेलनलाई एक्स्पोले सार्थक बनाउने विश्वास व्यक्त गरे। उनले नेपालको जलस्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक रहेको बताए।

उनले आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट विद्युत उत्पादनको क्षेत्रमा विकास र बिस्तारका लागि काम गर्ने प्रतिबद्धता जनाए।

उनले भने, ‘हामी सबैलाई थाहा छ, नेपाल सरकारले लगानी सम्मेलनको आयोजना गरेको छ। लगानी सम्मेलनको पूर्वसन्ध्यामा हिमालयन हाइड्रो एक्स्पोको आयोजना भइरहेको छ। यसले लगानी सम्मेलनलाई अझ सार्थक बनाउनेछ। नेपालको जलश्रोत जुन प्रकृतिको छ, यसको महत्व जुन प्रकारको छ, त्यही रुपमा सदुपयोग अझ गर्न थप काम गर्नुपर्ने आवश्यकता छ।’

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनलाई सफल बनाउने उद्देश्यले हिमालयन हाइड्रो एक्स्पो आयोजना गरिएको बताए। उनले विद्युतीय सवारीसाधनहरुको र्‍याली नेपालमै धेरै विद्युत खपत गरौँ भन्ने सन्देश दिन गरिएको बताए।

सरकारले सन् २०३५ सम्म १३ हजार मेगावाट बिजुली नेपालमा खपत गर्ने लक्ष्य लिएको भन्दै त्यसलाई सार्थक बनाउन एक्स्पोले भूमिका खेल्ने बताए।

अध्यक्ष कार्कीले जलविद्युत र ऊर्जासँग सम्बन्धित सामानहरु प्रदर्शनी गर्ने र बेच्नेभन्दा बाहेकका कुराहरु विगतमा नहुने गरेको भएपनि यस पटकको मेलामा भने विभिन्न चरणमा ऊर्जा क्षेत्रका समस्या, समाधान, लगानीका बारेमा विस्तृत रुपमा छलफल हुने र अन्ततः लगानी सम्मेलनलाई एक्स्पोले सहयोग पुर्‍याउने विश्वास रहेको बताए।

तपाईको प्रतिक्रिया