शनिबार ५ श्रावण २०८१
समाज

बर्खामा पानी शुद्धीकरण गरेर पिउन सुझाव

बुधबार असार २६, २०८१/ Wednesday 07-10-24

काठमाडौं। बर्खामा खानेपानी दूषित हुने भएकाले शुद्धीकरण गरेर पिउन विज्ञहरूले सुझाएका छन् । बर्खामा खाने पानीको मुहानमा ढल मिसिने, वर्षा भएर खाने पानीमा बाहिरको फोहोर पदार्थ मिसिएर पानी दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर पिउन आग्रह गरेका हुन् । 

वर्षाको समयमा झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ, निमोनिया, रुघाखोकीजस्ता पानीजन्य सङ्क्रामक रोगहरूको जोखिम बढी हुने भन्दै सतर्कता अपनाउन भेरी अस्पतालका फिजिसियन डा। संकेत कुमार रिसालले सुझाए । उनले पानीको शुद्धतामा विशेष ध्यान दिन आग्रह गरे । 

बर्खामा वर्षा र बाढीका कारणले वरपरका खानेपानीको मुहानमा ढल मिसिएर पानी दूषित हुन्छ । यस्तो पानी पिउँदा झाडापखाला, हैजाजस्ता सङ्क्रमण हुनुका साथै पेट दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने लगायत विभिन्न समस्या देखापर्छ ।

 त्यसैले पानी उमालेर पिउनु पर्छ । यदि पानी उमाल्न नसक्ने अवस्था भए क्लोरिन राखेर निर्मलीकरण गरेर पानी पिउनु पर्ने सङ्क्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनले सुझाए । 

तपाईको प्रतिक्रिया