शनिबार ५ श्रावण २०८१
राजनीति

एमाले कांग्रेसबिच संविधान संशोधनका लागि आयोग बनाउने सहमति भएको छैन : ओली

बुधबार असार २६, २०८१/ Wednesday 07-10-24

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस—एमालेबिच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताएका छन् ।

बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले संविधान संशोधनका लागि कांग्रेस र एमालेबिच आयोग बनाउने सहमति नभएको बताएका हुन् ।

गत असार १७ गते कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउँदै सरकार बनाउनेजस्ता सहमति भएका थिए। त्यसबेला संविधान संशोधन गर्न आयोग नै बनाउने दुई दलबीच सहमति भएको चर्चासमेत भएको थियो।

‘अनुभवहरुले के-कस्ता परिवर्तन, परिमार्जन, सुधार आवश्यक छन्, त्यसमा आधारित भएर संशोधन गर्ने हो। यो यो बुँदामा भन्ने निस्कर्षमा पुगिसकेका छैनौँ। कसैको नेतृत्वमा आयोग बनेको छैन। कसैको नेतृत्वमा आयोग बन्ने भन्ने कुरा केही पनि भएको छैन,’ अध्यक्ष ओलीले भने, ‘मोटामोटी के भएको हो भने राष्ट्रिय हितहरुको रक्षा संबर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ त्यो संशोधन गर्ने भनेको हो।’

उनले अस्थिरता देखिएकोले पनि दुई ठूला दल मिलेर सरकार बनाउन खोजिएको बताए। अध्यक्ष ओलीले संविधान गतिशील, समाजको पथप्रदर्शक भएकाले संविधानको समयानुकूल परिमार्जन हुने बताए ।

उनले विकास निर्माण र जनताका आवश्यकता तथा कामलाई केन्द्र भागमा नराख्दा भ्रष्टाचारतिर देशलाई लैजाने काम भएपछि आफूहरु मिलेको बताए । ओली स्वार्थलाई अग्र भागमा भएको र सङ्घीयतालाई सफल बनाउने दिशामा नगएकाले समीकरण फेर्नुपरेको बताए । उनले संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य नहुने चेतावनी दिए ।

तपाईको प्रतिक्रिया