शनिबार १३ बैशाख २०८२
राजनीति

एमालेले केन्द्रीय सदस्यलाई आफ्नै निर्वाचन क्षेत्रको जिम्मा दिने

बुधबार असार २६, २०८१/ Wednesday 07-10-24

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई आफ्नै निर्वाचन क्षेत्रको जिम्मेवारी दिने भएको छ । एमालेको सचिवालय बैठकले अन्तर प्रदेश र अन्तर क्षेत्रका फरक फरक भूगोलमा कार्यक्षेत्र रहने गरी खटाएको एक वर्ष पूरा भएकाले आफ्नै कार्यक्षेत्रको जिम्मेवारी दिने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

‘नयाँ कार्यविभाजनको आधार हामीले केन्द्रीय सदस्यहरुलाई सबैभन्दा तल्लो इकाइका रुपमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको जिम्मा (त्यो भन्दामाथिको जिम्मेवारी लिनेले जिल्ला वा प्रदेशको पनि लिन सक्ने हुनुभयो) सबैभन्दा आधारभूत इकाइ निर्वाचन क्षेत्र समन्वय  कमिटीलाई आधार बनाएर कार्यविभाजन गर्नेछौं’, उनले भने ।

यो कार्यविभाजन भने आगामी बैठकले गर्नेछ । केन्द्रीय सदस्यलाई निर्वाचन क्षेत्रको जिम्मेवारी दिएपछि प्रदेश कमिटीले स्थानीय तहलाई र जिल्ला कमिटीले वडालाई आधार बनाएर नेताहरुको कार्यविभाजन गर्ने उपमहासचिव ज्ञवालीले बताए ।

‘अब प्रदेशले आफ्ना सदस्यको कार्यविभाजन गर्दा पालिकालाई आधार बनाउनेछ, जिल्लाले वडालाई आधार बनाउनेछ, पालिकाले कार्यविभाजनको आधार टोललाई बनाउनेछ र टोल कमिटीले त्यो टोलभित्र रहेको प्रत्येक घरको हिसाबले कार्यविभाजन गर्ने गरी मापदण्ड निर्धारण गरेका छौं’, उपमहासचिव ज्ञवालीले भने ।

त्यस्तै साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण गरेर भदौसम्म संगठन विभागबाट प्रमणीकरण गरिसक्न एमालेले जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।

हालसम्म अधिवेशन हुन नसकेका ११ वटा जिल्ला कमिटीलाई कात्तिकभित्र अधिवेशन गरिसक्ने निर्देशन दिएको छ । त्यस्तै निर्वाचन क्षेत्र समन्वय कमिटीलाई प्रभावकारी बनाउन २० प्रतिशत सदस्य मनोनयन गर्न र सचिवालय समिति बनाउन पाउने निर्णय गरेको उपमहासचिव ज्ञवालीले बताए ।

 

तपाईको प्रतिक्रिया