बिहीबार १ फाल्गुण २०८१
राजनीति

रविमाथि पार्टीबाटै उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्छ : मुकुल

बुधबार असार २६, २०८१/ Wednesday 07-10-24

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले सभापति रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् ।

पार्टीले कारबाही गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरेका ढकालले पार्टी सभापति लामिछानेमाथि नै प्रश्न उठाएका हुन् ।

१९ गतेको बैठकमा मुखमा कालो टेप लगाएर बस्नु आफ्नो कमजोरी भएको हुनसक्ने उनले बताए । तर त्यसपछि बैठक स्थगित गरेर आफूसँग संवाद गर्नुका साटो बैठक राख्नु पनि कमजोरी भएको उनले बताए । त्यसपछि पनि आफूले सभापतिसँग संवाद गर्न खोजे पनि नमानेको ढकालले दाबी गरे ।

“हिजो उहाँ (रवि लामिछाने)ले आफूले कुनै सहकारीबाट ऋण लिएको छैन र आफूविरुद्ध जाहेरी पनि छैन भनिरहनुभएको थियो,” ढकालले भने, “तर सर्वोच्च अदालतले उहाँमाथि गम्भीर प्रश्न उठाएको छ । त्यसकारण पार्टीबाटै उच्चस्तरीय समिति बनाएर उहाँमाथि छानबिन गर्नुपर्छ ।” 

जनताको कुरा बोल्दा कारबाही गरेको भन्दै उनले आगामी महिना प्रस्ताव यात्रा सुरु गर्ने र कसरी जाने भनेर जनतालाई सोध्ने बताए ।

तपाईको प्रतिक्रिया