नेपालमा टिकटक दर्ता, मेटा र एक्सलाई पनि सरकारले लेख्यो पत्र
काठमाडौँ । नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको छ ।
मन्त्रालयका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्था अनुसार मन्त्रालयमा दर्ता गरिएको हो । यस अघि नेपालमा टिकटक आधिकारिक नभए पनि अब भने आधिकारिक रूपमा नेपालको ऐन कानूनको परिपालना गर्ने प्रक्रियामा अघि बढेको छ ।
यसअघि टिकटकमार्फत भइरहेका साइबर अपराधमा उक्त कम्पनीले कुनै पनि सूचना नै नदिने गरेको भए पनि टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएसँगै साइबर अपराधको अनुसन्धानमा उक्त कम्पनीले सघाउने प्रतिबद्धता जनाएको छ ।
यति मात्रै नभएर नेपालको कानून तथा सर्त मान्न तयार भएको, पर्यटन प्रवर्द्धन तथा डिजिटल साक्षरतामा पनि सघाउने प्रतिबद्धता जनाएको छ । निर्देशिकाको दफा ३ को उपदफा ८ अनुसार दर्ता भएको सामाजिक सञ्जाल प्लेटमर्फ सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले प्रत्येक ३ वर्षमा विवरण अद्यावधिक गराउनुपर्ने व्यवस्था रहेको छ ।
सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने शर्त टिकटकले स्वीकारेको छ । टिकटकमार्फत हुने साइबर अपराध नियन्त्रणमा सघाउन पुर्याउन समेत टिकटक तयार भएपछि दर्ता भएको हो ।
तपाईको प्रतिक्रिया