सोमबार १७ मङ्सिर २०८१
राजनीति

काठमाडौं महानगरको जरिवाना पत्र एमालेले बुझेन

आइतबार मङ्सिर ९, २०८१/ Sunday 11-24-24

काठमाडौं । जागरण सभामा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले तिराएको जरिवानको पत्र बुझ्न नेकपा एमालेले अस्वीकार गरेको छ । आइतबार जरिवानापत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो ।

गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवानाको पत्र लेखेको थियो । उक्त पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझि फिर्ता गरेको हो ।

एमालेले गरेको जागरण सभा नसकिँदै मेयर बालेन शाहले १ लाख जरिवाना तिराएको चिर्कटो सार्वजनिक गरेका थिए । तर, एमालेले भने फोहोर सफा गरिरहेको बेला जरिवानाको चिर्कटो थमाएको भन्दै आपत्ति जनाएको छ । एमालेले बालेन एमालेमाथि परिचालित भएको आरोप लगाउँदै जरिवाना नतिर्ने घोषणा गरिसकेको छ ।

महानगरपालिकाको नगर प्रहरीका निरीक्षक लिलाराज गाछाद्वारा हस्ताक्षरित एमाले केन्द्रीय कार्यालयलाई सम्बोधन गरेर लेखिएकोमा पत्रमा कानूनबमोजिम एक लाख रुपैयाँ जरिवाना तोकिएको उल्लेख छ ।

'मंसिर ७ गते काठमाडौँ महानगरपालिका-१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु,' महानगर प्रहरीका निरीक्षक गाछाले पत्रमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया