४.३६ प्रतिशतले घट्यो वाणिज्य बैंकहरुको नाफा, कुन बैंकले कति कमाए ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुको नाफा घटेको हो । बैंकहरुको निष्क्रिय कर्जा र सम्भावित कर्जा नोक्सानी व्यवस्थाका छुट्याएको रकम बढ्दै जाँदा नाफा प्रभावित बनेको हो ।
बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकहरुको नाफा गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ४.३६ प्रतिशतले घटेको हो । २० वाणिज्य बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २८ अर्ब ६८ करोड ८३ लाख मुनाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा २७ अर्ब ४३ करोड ७० लाख मुनाफा आर्जन गरेका हुन् ।
सञ्चालनमा रहेका २० मध्ये ९ वाणिज्य बैंकको नाफामा घटेको छ भने ११ बैंकले बढाएका छन् । दोस्रो त्रैमाससम्म नबिल बैंकले सबैभन्दा बढी नाफा गरेको । बैंकको नाफा १.२९ प्रतिशतले बढेर ३ अर्ब २४ करोड ४३ लाख पुगेको छ । दोस्रो बढी नाफा कमाउने बैंक ग्लोबल आईएमई हो ।
बैंकको नाफा ४९.५१ प्रतिशतले वृद्धि भएर ३ अर्ब ५ करोड ३५ लाख पुग्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ५७ प्रतिशले बढेर २ अर्ब ८३ करोड २३ लाख पुगेको छ ।यस्तै एभरेष्ट बैंकको नाफा २१.११ प्रतिशतले वृद्धि भई २ अर्ब ७ करोड ४८ लाख र एनएमबी बैंकको नाफा ४५.६० प्रतिशतले वृद्धि भई २ अर्ब पुगेको छ ।
दोस्रो त्रैमासको तथ्यांकअनुसार एनआईसी एशिया बैंकको नाफा सबैभन्दा धेरै ९१.५० प्रतिशतले गिरावट भएको छ । प्राथमिक पुँजीकोषको दबाबमा रहेको बैंकको व्यवसाय घट्दै गएको छ । जसले बैंकको आम्दानी घट्दै गएको छ । दोस्रो त्रैमासमा बैंकले १५ करोड ५२ लाख नाफा आर्जन गरेको हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ८२ करोड ६८ लाख नाफा आर्जन गरेको थियो । यस्तै निष्कृय कर्जा बढेसँगै कर्जा नोक्सानी व्यवस्था पनि उच्च दरमा बढेको छ । सोही कारण बैंकको नाफा उच्च दरमा गिरावट भएको हो ।
यसैगरी कुमारी बैंकको नाफा ६८.२१ प्रतिशतले गिरावट भएर २७ करोड ५७ लाखमा सिमित भएको छ । गत आवको सोही अवधिमा बैंकले ८६ करोड ७२ लाख नाफा कमाएको थियो । पुर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको नाफा ६२.१४ प्रतिशतले घटेर ७६ करोड ३० लाखमा झरेको छ । त्यस्तै सिद्धार्थ बैंकको नाफा पनि ५३.३६ प्रतिशतले घटेर ५३ करोडमा झरेको छ ।
निमार्ण व्यवसायिको झुक्तानीमा समस्या हुँदा उक्त क्षेत्रको कर्जा असुलीमा समस्या र साना तथा मझौला व्यवसाय कर्जामा समेत रिकभरी प्रभावित बन्दै जाँदा बैंकहरुको वित्तीय विवरणमा दवाब देखिएको बैंकरहरु बताउँछन् ।
तपाईको प्रतिक्रिया