बुधबार १० बैशाख २०८२
राजनीति

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

बुधबार चैत १३, २०८१/ Wednesday 03-26-25

काठमाडौं। संघीय संसद्को दुवै सदन— प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे, जबकि राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे सुरु हुनेछ।

प्रतिनिधिसभाको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० सम्बन्धी राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गर्न प्रस्ताव पेश गर्ने कार्यसूची छ। साथै, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गर्न प्रस्ताव पनि उनी प्रस्तुत गर्नेछन्।

राष्ट्रिय सभामा भौतिक पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन, र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम छ।

त्यसैगरी, प्रधानमन्त्री ओलीले मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पनि सभामा पेश गर्नेछन्।

यसबाहेक, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले दलित समुदायको अधिकार तथा विकाससम्बन्धी कानूनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफलको प्रस्ताव संसद्मा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया