पदाधिकारी बैठकमा देउवा : गभर्नर चाँडै नियुक्ति हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताएका छन् । पार्टीको पदाधिकारी बैठकमा नेताहरूले गभर्नर नियुक्त ढिलो भएको प्रति जिज्ञासा राखेपछि सभापति देउवाले चाँडै नियुक्त हुने जानकारी गराएका थिए ।
सभापति देउवा निवासमा बूढानीलकण्ठमा शुक्रबार बिहान बसेको बैठकमा नेताहरुले राष्ट्रबैंकको गभर्नर नियुक्त गर्न धेरै ढिला भएकोमा चासो राखेका थिए । त्यसमा सभापतिले दिएको जवाफ उद्धृत गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘सभापतिले यो चाँडै टुंगिन्छ । प्रोफेसनल, व्यवसायिक व्यक्तिको हातमा राष्ट्र बैंकको नेतृत्वमा जानुपर्दछ । एउटा सहमतिबाट निर्णय हुन्छ भन्नुभएको छ ।’
बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा पार्टीका प्रवक्ता डा. प्रकाशशशरण महतले सभापति देउवाको भनाइ उद्धृत गर्दै भने, ‘राष्ट्र बैंकको विषय यो निकै ढिलो भएको छ भन्ने चासो प्रकट भयो । नेतृत्वले, सभापतिज्यूले यो चाँडै टुङ्गिन्छ भन्नुभएको छ । प्रोफेसनल, व्यावसायिक र राष्ट्र बैंकको नेतृत्व यस्तो व्यावसायिक व्यक्तित्वको हातमा जानुपर्यो जसले मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउन सकोस् । त्यसको चाँडो निर्णय हुन्छ र एउटा सहमतिबाट निर्णय हुन्छ भन्ने कुरा पनि उहाँले राख्नुभएको छ ।’
तपाईको प्रतिक्रिया