पूर्वराष्ट्रपति भण्डारी : राजनीतिमा फर्किए एमालेबाटै फर्किन्छु

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुनः राजनीतिमा फर्किने भए एमालेबाटै फर्किने स्पष्ट संकेत गरेकी छन्। मंगलबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो राजनीतिक यात्रा एमालेबाट सुरु भएको र राष्ट्रपति पदसम्मको यात्रा पनि एमालेकै साथबाट भएको बताइन्।
उनले राष्ट्रपति निर्वाचित हुँदा कांग्रेसले आफूलाई कहिल्यै समर्थन नगरेको उल्लेख गर्दै, माओवादी लगायत अन्य वामपन्थी र क्षेत्रीय दलको समर्थनले आफू राष्ट्रपति बनेको स्मरण गरिन्। भण्डारीले भनिन्, “म जुन पार्टीबाट जन्मिएँ, हुर्किएँ, त्यसैबाट अगाडि बढें। कांग्रेसले कहिल्यै मलाई समर्थन गरेन। राष्ट्रपति त एक जना हुने हो, सर्वसम्मत बनाउन सकिन्थ्यो, तर कांग्रेसले त्यो गरेन।”
पूर्वमा आएकोबारे सञ्चारकर्मीको जिज्ञासामा उनले स्थानीय कार्यक्रम र विज्ञान प्रदर्शनीमा सहभागी हुन आएको बताउँदै भनिन्, “म जनताको आकांक्षा बुझ्न देश घुम्दैछु। एमालेको अनुमति लिएर हिँडिरहनु पर्दैन।”
भण्डारीले आफू गुटगत राजनीति नहुने र व्यक्तिगत आकांक्षा नराख्ने दाबी गर्दै राष्ट्रिय हितमा wherever necessary काम गर्ने प्रतिबद्धता जनाइन्।
तपाईको प्रतिक्रिया