शनिबार २३ फाल्गुण २०८२
राजनीति

काठमाडौंमा जेन्जी आन्दोलनको चौथो दिनः तस्विरमा हेर्नुहोस्

बिहीबार भदौ २६, २०८२/ Thursday 09-11-25
तस्विर विनोद थापा/देश दैनिक

काठमाडौं।  राजधानीमा जारी जेनजी आन्दोलन आज चौथो दिनमा प्रवेश गरेको छ। सोमबारदेखि सुरू भएको विरोध प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीचको भिडन्तका कारण मृत्यु हुनेको संख्या बढेर ३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिलेसम्म १,०३३ जना घाइते भइसकेका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ। 

सुरक्षा परिस्थितिलाई नियन्त्रणमा लिन सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कर्फ्यु जारी गरेको थियो। आज बिहानदेखि केही मुख्य क्षेत्रहरूमा कर्फ्यु आंशिक रूपमा शिथिल गरिए पनि अझै धेरै भागमा कडा नियन्त्रण जारी छ।

सुरक्षाबलहरूले सडकमा गस्ती बढाएका छन् र सार्वजनिक स्थलहरूमा सीमित मात्र चहलपहल देखिन्छ। पसल, विद्यालय र कार्यालयहरू प्रायः बन्द छन्, केही ठाउँमा भने अत्यावश्यक सेवा मात्र सञ्चालनमा छन्।

यसैबीच, सरकार र आन्दोलनकारीबीच वार्ता प्रक्रिया सुरु भएको छ। आन्दोलनकारी युवाहरूले पूर्व प्रधानन्यायाधीश सुषिला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिन प्रस्ताव गरेका छन्। वार्ताबाट समाधानको सम्भावनाले आन्दोलनको भावी दिशा निर्धारण गर्ने अनुमान गरिएको छ।

यता, अन्तर्राष्ट्रिय उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः खुलाइएको छ। यससँगै विदेश जाने र भित्रिने यात्रुहरूलाई सहजता मिल्न थालेको छ।

 

तपाईको प्रतिक्रिया