बाढी–पहिरोले पाँचथर तहसनहस : घर, पुल र जलविद्युत् आयोजनामा क्षति
पाँचथर ।लगातारको अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। शुक्रबार रातिदेखि परेको भीषण वर्षाले तमोर र दोभाने खोलामा पानीको बहाव ह्वात्तै बढेपछि तथा विभिन्न स्थानमा पहिरो खस्दा स्थानीय जनजीवन प्रभावित बनेको हो।
बाढी–पहिरोका कारण दर्जनौँ भौतिक संरचनामा क्षति पुगेको छ भने सञ्चार सेवा अवरुद्ध हुँदा उद्धार तथा राहत कार्यमा कठिनाइ भइरहेको छ। याङवरक–१ लाम्बा खोलामा तीन परिवारका घर पूर्ण रूपमा बगाएको प्रहरीले जनाएको छ।
पहिरोले मोहनलाल खवास, कविर खवास र गंगाप्रसाद बेघाका दुईतले घर बगाउँदा उनीहरू घरबारविहीन बनेका छन्। घटनापछि तीनै परिवारका १३ जना सदस्य विस्थापित भई छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन्। कविर खवासको गोठमा रहेका तीन वटा गोरुसमेत बाढीले बगाएको बताइएको छ।
यसैबीच, बाढीले पाँचथर र तेह्रथुम जोड्ने निर्माणाधीन मोटरेबल पुलसमेत बगाएको छ। याङवरक क्षेत्रमा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाका संरचनामा पनि क्षति पुगेको छ। मेवाखोलास्थित हरिहृदुलय मेवाखोला जलविद्युत् आयोजना, इंवाखोला जलविद्युत् आयोजना र अरुण काबेली जलविद्युत् आयोजनामा क्षति पुगेको प्रहरीले जनाएको छ।
विभिन्न खोलानालामा रहेका झोलुङ्गे तथा पक्की पुलमा क्षति पुग्दा स्थानीय आवतजावत ठप्प बनेको छ भने मध्यपहाडी राजमार्गअन्तर्गत च्याङथापु–थर्पु सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
यस्तै, याङवरक–४ सिगेवामा स्थानीयवासीको अलैँची बगान तथा खेतीयोग्य जमिनमा समेत बाढी पसेर क्षति पुगेको छ। खानेपानी, सिँचाइ तथा अन्य पूर्वाधार आयोजनामा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिशकुमार कर्ण ले जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया