ह्वाइट हाउस बाहिर अन्धाधुन्ध गोली प्रहार, एक जनाको मृत्यु
वासिङ्टन । अमेरिकी राष्ट्रपतीय निवास ह्वाइट हाउस बाहिर भएको गोलीकाण्डमा एक संदिग्ध बन्दुकधारी मारिएका छन् भने एक सर्वसाधारण घाइते भएका छन्। शनिबार साँझ भएको घटनापछि ह्वाइट हाउस आसपासको क्षेत्रमा केही समय त्रासपूर्ण अवस्था सिर्जना भएको थियो।
अमेरिकी गुप्तचर निकायका सुरक्षाकर्मीका अनुसार साँझ ६ बजेपछि १७ औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु नजिक पुगेका एक व्यक्तिले अचानक झोलाबाट बन्दुक निकालेर अन्धाधुन्ध गोली चलाउन थालेका थिए। त्यसपछि ह्वाइट हाउस सुरक्षामा खटिएका एजेन्टहरूले तत्काल जवाफी कारबाही गरेका थिए।
जवाफी फायरका क्रममा ती संदिग्ध गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि स्थानीय अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाका क्रममा एक सर्वसाधारणलाई पनि गोली लागेको पुष्टि भएको छ। तर सुरक्षामा खटिएका कुनै पनि अधिकारी घाइते नभएको अमेरिकी सेक्रेट सर्भिसले जनाएको छ।
घटनाको समयमा अमेरिकी राष्ट्रपति ह्वाइट हाउसमै उपस्थित रहे पनि उनी पूर्ण रूपमा सुरक्षित रहेको र सुरक्षा व्यवस्थामा कुनै असर नपरेको अधिकारीहरूले बताएका छन्।
गोली चलेपछि ह्वाइट हाउस आसपासको क्षेत्रमा अफरातफरी मच्चिएको थियो। प्रत्यक्ष प्रसारणको तयारीमा रहेकी अमेरिकी सञ्चार माध्यम एबीसी न्युजकी पत्रकार सेलिना वाङले समेत गोलीको आवाज सुनेपछि सुरक्षित स्थानतर्फ भाग्नुपरेको उल्लेख गरेकी छन्। उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा सुरक्षाकर्मीले तत्काल प्रेस ब्रिफिङ हलतर्फ जान निर्देशन दिएको देखिन्छ।
अमेरिकी सेक्रेट सर्भिसले घटनाबारे अनुसन्धान जारी रहेको र थप विवरण पछि सार्वजनिक गरिने जनाएको छ।
तपाईको प्रतिक्रिया