कर्णाली कोरिडोर पुनः बन्द गरिएको छ। हिमाली युवा क्लब ले आज सूचना जारी गर्दै आजदेखि अनिश्चितकालका लागि कोरिडोर बन्द गरिएको जनाएको हो।
यसअघि गएको शुक्रवार प्रहरी प्रशासन र राजनीतिक दलसँग भएको सहमतिपछि क्लबले कोरिडोर खुलाएको थियो। तर, सहमति कार्यान्वयन नभएको र स्थानीयवासीमाथि लुटपाट तथा तोडफोडका घटना रोक्न प्रशासनले चासो नदेखाएको भन्दै क्लबले फेरि बन्दको घोषणा गरेको हो।
क्लबका अनुसार खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिका का केही व्यक्तिहरूले हिमाली गाउँपालिका–३ स्थित लाम्पाटा क्षेत्रका स्थानीयका घरमा लुटपाट, तोडफोड र कुटपिट गरेका छन्।
सीमा क्षेत्रमा बाजुरातर्फ प्रहरी चौकी स्थापना गर्ने तयारीपछि बाजुरा र हुम्ला जिल्लाका बासिन्दाबीच विवाद चर्किएको बताइएको छ।
यता, गएको हप्तादेखि तनावग्रस्त बनेको रानीसैन र लाम्पाटा क्षेत्रमा सुरक्षा अवस्था नियन्त्रणमा लिन संयुक्त सुरक्षा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुरा ले जनाएको छ।
हिजो नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २५ जना सुरक्षाकर्मीको टोली सदरमुकाम मार्तडीबाट त्यसतर्फ पठाइएको थियो। मार्तडीबाट लाम्पाटा पुग्न एक दिनको सडक यात्रा र कम्तीमा दुई दिन पैदल हिँड्नुपर्ने अवस्था रहेको छ।
तपाईको प्रतिक्रिया