सोमबार ११ जेठ २०८३
समाज

कञ्चनपुरमा होटल सञ्चालकमाथि सुनियोजित आक्रमण: सीसीटीभी फुटेज भाइरल, सुरक्षामाथि उठ्यो प्रश्न

आइतबार जेठ १०, २०८३/ Sunday 05-24-26

महेन्द्रनगर। कञ्चनपुरको प्रमुख व्यापारिक केन्द्र महेन्द्रनगरमा एक होटल व्यवसायीमाथि होटलभित्रै ज्यानलेवा आक्रमण भएको छ। भीमदत्त नगरपालिका–४ स्थित ‘होटल ग्रान्ड प्यासिफिक’का सञ्चालक गोविन्द चन्दमाथि शनिबार राति अज्ञात समूहले आक्रमण गरेको हो।

प्रहरीका अनुसार राति करिब ९ बजेतिर चन्द होटलको काउन्टरमा बसिरहेका बेला ५–६ जनाको समूह अचानक होटलभित्र प्रवेश गरी उनीमाथि आक्रमणमा उत्रिएको थियो। आक्रमणकारीहरूले लाठी, रड लगायतका घरेलु हतियार प्रयोग गर्दै कुटपिट गरेको बताइएको छ।

घटनाको सम्पूर्ण दृश्य होटलमा जडान गरिएको सीसीटीभी क्यामरामा कैद भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा आक्रमणकारीहरूले योजनाबद्ध रूपमा चन्दमाथि निर्घात प्रहार गरेको देखिन्छ। चन्दले बच्न प्रयास गरे पनि समूहगत आक्रमणका कारण उनी गम्भीर घाइते भएका थिए।

घाइते चन्दलाई तत्काल उपचारका लागि स्थानीय अस्पताल लगिएको थियो। उपचारपछि स्वास्थ्य अवस्था खतरामुक्त रहेकाले आइतबार डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

कञ्चनपुर प्रहरीका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले घटनाको अनुसन्धान तीव्र रूपमा अघि बढाइएको जानकारी दिएका छन्। उनका अनुसार सीसीटीभी फुटेजका आधारमा आक्रमणकारीहरूको पहिचान गर्ने काम भइरहेको छ भने फरार व्यक्तिहरूको खोजी जारी छ।

प्रहरीले घटनाको कारणबारे हालसम्म स्पष्ट नभएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा व्यक्तिगत रिसिइबी, फिरौती वा व्यावसायिक विवादमध्ये कुनै कारण हुन सक्ने आशंका गरिएको छ।

व्यापारिक केन्द्रको व्यस्त क्षेत्रमा रहेको होटलमै व्यवसायीमाथि आक्रमण भएपछि स्थानीय उद्योगी तथा व्यवसायीहरूले सुरक्षा व्यवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न तथा व्यवसायीको सुरक्षाको सुनिश्चितता गर्न प्रशासनसँग माग गरेका छन्।

यता प्रहरीले बजार क्षेत्रमा सुरक्षा गस्ती बढाइएको र घटनामा संलग्न व्यक्तिहरूलाई छिट्टै कानुनी दायरामा ल्याइने जनाएको छ।

तपाईको प्रतिक्रिया