सोमबार ११ जेठ २०८३
राजनीति

एमाले सचिवालय बैठक: ओलीकाे पक्षमा चार जना पदाधिकारीमात्रै

आइतबार जेठ १०, २०८३/ Sunday 05-24-26

काठमाडौं।  काठमाडौंस्थित भक्तपुरको गुन्डुमा जारी नेकपा एमालेको सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक समीकरण थप स्पष्ट हुँदै गएको छ। अध्यक्ष केपी शर्मा ओली निवासमा शुक्रबारदेखि सुरु भएको बैठकमा फागुन २१ पछिको राजनीतिक अवस्थाबारे समीक्षा भइरहेको छ।

बैठकमा आइतबार सचिवहरूले धारणा राखेका छन्। स्रोतका अनुसार हालसम्म बोलेका १९ नेतामध्ये चार जना पदाधिकारीमात्रै अध्यक्ष ओलीको पक्षमा खुलेर उभिएका छन् भने अधिकांश नेताहरूले पार्टी सञ्चालन शैलीप्रति असन्तुष्टि जनाएका छन्।

आइतबार सबै पदाधिकारीले आफ्नो धारणा राखिसकेकाले बैठक टुंग्याउने तयारी गरिएको बताइएको छ। उपाध्यक्ष, महासचिव, उपमहासचिव र अधिकांश सचिवहरूले पार्टीभित्र सुधार आवश्यक रहेको धारणा राखेका स्रोतको दाबी छ।

ओलीको पक्षमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत खुलेर उभिएको बताइएको छ। त्यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका सचिव यामलाल कँडेल तथा सचिव भानुभक्त ढकालले पनि ओलीको बचाउ गरेका छन्।

कँडेल ओलीनिकट नेताका रूपमा चिनिन्छन् भने ढकाललाई पनि पार्टीभित्र ओलीको विश्वासपात्र मानिन्छ। उनलाई हालै संगठन विभागको जिम्मेवारी दिने प्रस्तावसमेत गरिएको स्रोतले जनाएको छ।

आइतबारको बैठकमा ढकाल र कँडेलले अध्यक्ष ओलीको नेतृत्वको पक्षमा स्पष्ट धारणा राखेका थिए। उता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिएका सचिव शेरधन राई र हिक्मत कार्कीले भने पार्टी यथास्थितिमा अघि बढ्न नसक्ने बताएका छन्।

तीन दिनदेखि जारी बैठकले एमालेभित्रको शक्ति सन्तुलन र नेतृत्वप्रतिको असन्तुष्टि सतहमा ल्याएको राजनीतिक वृत्तमा चर्चा छ।

तपाईको प्रतिक्रिया