सिन्धुलीको सुनकोसी गाउँपालिका–५ स्थित पल्धुरी सित्खा पुल नजिक सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। आइतबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुब्दा स्थानीय दुई बालकको ज्यान गएको हो।
मृत्यु हुनेमा सुनकोसी गाउँपालिका–४ का दलबहादुर पुलामीका ९ वर्षीय छोरा सफल पुलामी र वडा नं. ५ निवासी सरिता विकका १० वर्षीय छोरा उकेश विक रहेका छन्।
वडाध्यक्ष सुरथ बसेलका अनुसार सफल पुलामीको शव पल्धुरी सित्खा क्षेत्रमा फेला परेको थियो भने उकेश विकको शव केही तलतिर सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीबाट निकालेको हो।
बालकहरू हराएको जानकारी पाएलगत्तै स्थानीय जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय खुर्कोट, प्रहरी चौकी रातामाटा, सशस्त्र प्रहरीको गोताखोर टोली तथा स्थानीयवासी संयुक्त रूपमा खोजीमा जुटेका थिए। करिब दुई घण्टाको खोजीपछि दुवै बालकको शव फेला परेको जनाइएको छ।
मृतक दुवै बालक प्रगतिशील माध्यमिक विद्यालय रातामाटाका विद्यार्थी रहेको बताइएको छ। अत्यधिक गर्मी र विद्यालय बिदा भएका कारण उनीहरू नदीमा पौडी खेल्न गएको अनुमान गरिएको छ।
प्रहरीले दुवै शव पोस्टमार्टमका लागि सिन्धुली अस्पताल लैजाने तयारी भइरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया