सोमबार ११ जेठ २०८३
राजनीति

सरकारविरुद्ध थप आक्रामक हुने तयारी गर्दै विपक्षी दल

आइतबार जेठ १०, २०८३/ Sunday 05-24-26

काठमाडौं।  प्रतिनिधिसभामा रहेका विपक्षी दलहरूले सरकारविरुद्ध संयुक्त रूपमा थप सशक्त ढंगले प्रस्तुत हुने निर्णय गरेका छन्। सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलका प्रमुख सचेतकहरूको बैठकले प्रधानमन्त्री वालेन्द्र शाह संसद्प्रति जवाफदेही हुनुपर्ने निष्कर्ष निकालेको हो।

बैठकमा सरकारको कार्यशैली, संसद्प्रतिको बेवास्ता तथा सभामुख डोलप्रसाद अर्यालको भूमिकाबारे गम्भीर छलफल भएको बताइएको छ। विपक्षी दलहरूले संसद्मा विपक्षीको आवाज दबाउने र पेलेर अघि बढ्ने प्रवृत्ति बढेको आरोप लगाएका छन्।

उनीहरूले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा सरकारविरुद्ध सशक्त विरोध जनाउने तयारी गरेका छन्। प्रधानमन्त्री शाह संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने माग पनि विपक्षी दलहरूले दोहोर्‍याएका छन्।

छलफलपछि एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सरकार र सभामुखको शैली संसदीय मूल्य र मान्यताविपरीत गएको बताएका छन्। नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेको विषयमा गम्भीर चासो व्यक्त गरेका छन्।

बैठकमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा, एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओली सहभागी थिए।

तर बैठकमा श्रमसंस्कृतिका कुनै प्रतिनिधि सहभागी भएनन्। प्रधानमन्त्री बालेन शाह र उनको नेतृत्वको सरकारको सबैभन्दा कडा आलोचना गर्दै आएको श्रमसंस्कृतिको अनुपस्थितिलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ।

विपक्षी दलहरूले संविधान कार्यान्वयन, संसदीय नियमावलीको पालना र लोकतान्त्रिक मूल्यको रक्षाका लागि आगामी दिनमा पनि सहकार्य र समन्वयलाई निरन्तरता दिने बताएका छन्।

तपाईको प्रतिक्रिया