सोमबार ११ जेठ २०८३
बिजनेस

मन्त्री यादवद्वारा हेटौंडा सिमेन्ट उद्योग निरीक्षण, पुनः सञ्चालनको प्रतिबद्धता

आइतबार जेठ १०, २०८३/ Sunday 05-24-26

बागमती ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आर्थिक संकटमा रहेको हेटौंडा सिमेन्ट उद्योगको निरीक्षण गरेकी छन्। उनले उद्योगको अवस्था बुझ्दै व्यवस्थापन र कर्मचारीसँग छलफल गरेकी हुन्।

मन्त्री यादवले सरकारी स्वामित्वका उद्योग बन्द हुनु दुःखद भएको भन्दै ती उद्योगहरू पुनः सञ्चालन गर्ने सरकारको तयारी रहेको बताइन्। उनले हेटौंडा सिमेन्ट उद्योगलाई नियमित सञ्चालनमा ल्याउन अध्ययन भइरहेको र सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिन्।

उद्योग व्यवस्थापनका अनुसार पुराना मेसिन, कच्चा पदार्थको अभाव र आर्थिक संकटका कारण उत्पादन बन्द भएको छ। ११ महिनादेखि कर्मचारीलाई तलब दिन नसकिएको र पुराना बक्यौता तथा विद्युत् महसुलसमेत तिर्न नसकिएको जानकारी दिइएको छ।

२०३३ सालमा स्थापना भई २०४३ सालदेखि उत्पादन सुरु गरेको यो उद्योग अहिले पुराना उपकरणका कारण पूर्ण रूपमा सञ्चालन गर्न कठिन अवस्थामा रहेको छ।

तपाईको प्रतिक्रिया