सोमबार ११ जेठ २०८३
राजनीति

रास्वपाले सार्वजनिक गर्‍याे राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका

आइतबार जेठ १०, २०८३/ Sunday 05-24-26

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई व्यवस्थित रूपमा अघि बढाउँदै विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले जेठ ६ गते गरेको निर्णयअनुसार महाधिवेशनसँग सम्बन्धित संगठनात्मक तथा निर्वाचन प्रक्रियाका विभिन्न चरणहरूको समयसीमा निर्धारण गरिएको हो ।

केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङद्वारा जारी परिपत्रमा ७७ जिल्ला र सातै प्रदेशमा निर्वाचन समिति गठनलाई प्राथमिक कार्यका रूपमा अघि बढाइएको उल्लेख गरिएको छ ।

निर्धारित तालिकाअनुसार जेठ १५ भित्र प्रदेश तथा जिल्ला तहमा निर्वाचन समिति गठन गरिसक्नुपर्नेछ । साथै, जेठ १० गतेसम्म समितिसम्बन्धी आधिकारिक परिपत्र र बैठक माइन्युटको प्रतिलिपि निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, स्थानीय र जिल्ला अधिवेशनका प्रतिवेदनहरू जेठ २० गतेसम्म संकलन गरिनेछन् भने महाधिवेशन प्रतिनिधिको नामावली बुझाउने अन्तिम मिति जेठ २५ तय गरिएको छ । जिल्ला सभापतिहरूलाई भने जेठ मसान्तभित्र जिल्ला अधिवेशन तथा निर्वाचनसम्बन्धी प्रतिवेदन अनिवार्य रूपमा पेस गर्न निर्देशन दिइएको छ ।

महाधिवेशनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन पार्टीले इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने तयारी पनि थालेको छ । यससम्बन्धी छलफल तथा प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको विवरण असार ५ गतेभित्र बुझाइसक्नुपर्ने कार्यतालिकामा उल्लेख गरिएको छ ।

निर्वाचन आयोगले प्रदेश सभापतिहरूलाई मातहतका जिल्ला सभापतिसँग समन्वय गरेर केन्द्रले तोकेको समयसीमाभित्र सम्पूर्ण काम सम्पन्न गर्न निर्देशन दिएको छ ।

महाधिवेशन तयारीलाई प्रभावकारी बनाउन पार्टीले महामन्त्री कविन्द्र बुर्लाकोटी, भूपदेव शाह तथा संगठन विभागका सचिव शंकर श्रेष्ठ लाई समेत जानकारी गराउँदै आन्तरिक तयारीलाई तीव्र बनाएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया