प्रतिनिधिसभा बैठक आज बस्दै, बजेटमाथिको छलफल सुरु हुने
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल सुरु गर्ने कार्यसूची रहेको छ।
संसद सचिवालयका अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन्। त्यसपछि उनले वक्तव्यसहित आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। प्रस्ताव प्रस्तुत भएपछि बजेटमाथिको छलफल सुरु हुनेछ।
बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्ने कार्यसूची पनि रहेको छ।
त्यसैगरी सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउनेछन्। साथै, कार्यव्यवस्था परामर्श समितिका सदस्यहरूको मनोनयनसम्बन्धी जानकारी गराउनुका साथै ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रिय सभाबाट तोकिएको अवधिभित्र फिर्ता नभएको विषय पनि संसदलाई अवगत गराउने कार्यक्रम रहेको छ।
तपाईको प्रतिक्रिया