मंगलबार २६ जेठ २०८३
समाज

सार्वजनिक जग्गामा बनेका अवैध संरचना हटाउन व्यास नगरपालिकाको ३५ दिने सूचना

मंगलबार जेठ २६, २०८३/ Tuesday 06-09-26

तनहुँ। तनहुँको व्यास नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गामा नियमविपरीत निर्माण गरिएका संरचना हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको छ।

नगरपालिकाले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै सडक अधिकार क्षेत्र र सडकपेटी अतिक्रमण हुने गरी निर्माण गरिएका पक्की संरचना, बरन्डा तथा टिनका टहरा हटाउन निर्देशन दिएको हो।

नगर कार्यपालिकाको जेठ २२ गते बसेको २३८औँ बैठकको निर्णयअनुसार सूचना जारी गरिएको नगरपालिकाका इन्जिनियर अमृत केसीले जानकारी दिए।

उनका अनुसार सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका संरचना सम्बन्धित घरधनीले तोकिएको अवधिभित्र स्वेच्छाले हटाई नगरपालिकालाई सहयोग गर्नुपर्नेछ।

नगरपालिकाले जारी गरेको सूचनामा निर्धारित समयभित्र संरचना नहटाइए प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गरी नगरपालिकाले आफैँ हटाउने उल्लेख गरिएको छ।

इन्जिनियर केसीले सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु सबै नगरवासीको साझा दायित्व भएको उल्लेख गर्दै अतिक्रमण गरी बनाइएका संरचना हटाउन सम्बन्धित घरधनी तथा सरोकारवालालाई सहयोग गर्न आग्रह गरे।

 

तपाईको प्रतिक्रिया