एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई विमानस्थलबाटै फर्काइयो
काठमाडौं। विश्वकप फुटबल हेर्न क्यानडा जान लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ।
मंगलबार बिहान क्यानडातर्फ प्रस्थान गर्न विमानस्थल पुगेका उनीहरूलाई अध्यागमन कार्यालयले रोक्दै फिर्ता पठाएको हो। अध्यागमनका एक अधिकारीका अनुसार दुवै जना ‘कालोसूची’ (ब्ल्याकलिस्ट) मा रहेको कारण उनीहरूलाई विदेश जान अनुमति दिइएन।
अधिकारीले लोकान्तरलाई दिएको जानकारी अनुसार, “उहाँहरू क्यानडा जान विमानस्थलमा आउनुभएको थियो। तर ब्ल्याकलिस्टमा रहेकाले हामीले फर्काइदिएका हौं।”
यसअघि आर्थिक अनियमिततासम्बन्धी छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) को सिफारिसमा अध्यागमन विभागले गत वैशाख महिनामा एन्फाका सबै पदाधिकारीलाई विदेश यात्रा गर्न रोक लगाएको थियो।
उक्त प्रतिबन्धकै आधारमा अहिले पनि उनीहरूको विदेश यात्रा रोकिएको बताइएको छ।
तपाईको प्रतिक्रिया