रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि स्थगित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण कार्यक्रम तथा गतिविधि अर्को सूचना जारी नभएसम्मका लागि रोक्ने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार एक जरुरी सूचना जारी गर्दै अधिवेशनसँग सम्बन्धित सबै प्रक्रिया तत्काल प्रभावबाट स्थगित गरिएको जनाएको हो। आयोगका अनुसार अधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधानअनुसार सञ्चालन गर्न आवश्यक देखिएकाले हालका लागि कार्यक्रम रोकिएको हो।
स्थगनमा प्रतिनिधि चयन प्रक्रिया, निर्वाचन कार्यतालिका, उम्मेदवारी दर्ता, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधि समेटिएका छन्। आयोगले पार्टीको विधान २०७९ (तेस्रो संशोधनसहित) को दफा ४१ र ४९ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै उक्त निर्णय गरिएको स्पष्ट पारेको छ।
अधिवेशन पुनः सञ्चालन हुने मिति, समय र संशोधित कार्यतालिका भने पछि सार्वजनिक गरिने आयोगले जनाएको छ। साथै, अर्को सूचना जारी नभएसम्म अधिवेशनसँग सम्बन्धित कुनै पनि नयाँ कार्यक्रम वा गतिविधि सञ्चालन नगर्न पार्टीका सदस्य, प्रतिनिधि, उम्मेदवार तथा प्रदेश र जिल्ला तहका नेता–कार्यकर्तालाई निर्देशन दिइएको छ।
जारी सूचनाको प्रतिलिपि पार्टी सभापति, महामन्त्री, संगठन विभाग, अनुशासन आयोग तथा मधेस प्रदेश समितिलाई समेत पठाइएको आयोगले जनाएको छ।
तपाईको प्रतिक्रिया