काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीको नेतृत्व व्यवस्थापनका लागि नौ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विशालकुमार भण्डारीको अध्यक्षतामा उक्त समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
मन्त्रिपरिषद्ले तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गरेको छ। साथै, बैठकले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८१ लाई पनि अनुमोदन गरेको छ।
सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। प्रवक्ता पोखरेलका अनुसार उक्त प्रतिवेदनको अध्ययनपछि आवश्यक कदम चालिनेछ।
आर्थिक विधेयकबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले कुनै प्रकारको चलखेल नभएको दाबी गरे। अर्थमन्त्रीले गहन मेहनतका साथ सन्तुलित र प्रभावकारी बजेट ल्याएको भन्दै सरकारले त्यसलाई पूर्ण समर्थन गरेको उनले बताए।
संसद्मा जारी अवरोधबारे बोल्दै प्रवक्ता पोखरेलले आवश्यक परे प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भई जवाफ दिन तयार रहेको उल्लेख गरे।
त्यसैगरी, काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा मेट्रो रेल तथा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनको काम अगाडि बढिरहेको जानकारी पनि उनले दिए।
तपाईको प्रतिक्रिया