काठमाडौँ । विपक्षी दलका सांसदहरूको अवरोधका कारण राष्ट्रिय सभाको मंगलबारको बैठक कार्यसूचीमा प्रवेश गर्न नसकी स्थगित भएको छ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी सांसदहरूले उक्त भनाइ सच्याउन माग गरेका थिए। सोही विषयलाई लिएर उनीहरूले बैठकमा विरोध जनाउँदै अवरोध कायम राखेका हुन्।
राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले सांसदहरूलाई आसन ग्रहण गरी बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विपक्षी सदस्यहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। अवरोध हट्न नसकेपछि अध्यक्ष दाहालले बैठक जेठ २८ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको घोषणा गरे।
यसअघि पनि यही विषयलाई लिएर प्रतिनिधिसभाको बैठक निरन्तर प्रभावित हुँदै आएको छ। संसद्का दुवै सदनमा विपक्षी दलहरूको विरोध जारी रहँदा संसदीय गतिविधि प्रभावित बनेका छन्।
तपाईको प्रतिक्रिया