आइतबार २१ भदौ २०८३
बिजनेस

काठमाडौं भित्रियो ८७ हजारभन्दा बढी सिलिण्डर

आइतबार भदौ २१, २०८३/ Sunday 09-06-26

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुख्य राजमार्ग अवरुद्ध भए पनि पछिल्लो तीन दिनमा वैकल्पिक मार्ग प्रयोग गरेर ८७ हजारभन्दा बढी एलपी ग्यास सिलिण्डर काठमाडौं भित्र्याइएको छ ।

नेपाल आयल निगमका अनुसार बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगबाट विभिन्न १८ वटा ग्यास कम्पनीले रिफिलिङ गरी ८७ हजार ८७७ वटा सिलिण्डर काठमाडौं ल्याएका हुन् ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ वटा ग्यास सिलिण्डर उपत्यका भित्रिएका छन् ।

मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक मार्गबाट ढुवानीको व्यवस्था गरेको हो ।

यसअघि भदौ १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेटहरू बाटोमै रोकिएका थिए ।

त्यसपछि निगमले तराई क्षेत्रमा रहेका ग्यास उद्योगबाट रिफिल गरिएका सिलिण्डर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने व्यवस्था मिलाएको हो ।

ग्यासको आपूर्ति नियमित राख्न निगमले सार्वजनिक बिदाका दिनमा समेत रिफिलिङ तथा ढुवानीको काम नरोक्न ग्यास उद्योगहरूलाई निर्देशन दिएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया