सोमबार २२ भदौ २०८३
बिजनेस

नबिल बैंकले घोषणा गर्‍यो लाभांश, बोनस सेयर कति ?

सोमबार भदौ २२, २०८३/ Monday 09-07-26

काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना साधारण सेयरधनीलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको ७१२औँ बैठकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । यसअनुसार सेयरधनीले कुल १५.८० प्रतिशत लाभांश पाउने प्रस्ताव गरिएको छ ।

बोनस सेयर वितरणका लागि बैंकले १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा तथा नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा छुट्याउने प्रस्ताव गरेको छ । यी दुवै रकममा सम्बन्धित करसमेत समावेश गरिएको बैंकले जनाएको छ ।

त्यस्तै, बैंकले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि चुक्ता पुँजीको ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ । अग्राधिकार सेयरधनीका लागि २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश प्रस्ताव गरिएको छ । उक्त रकममा करसमेत समावेश छ र आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँटको मितिबाट समानुपातिक रूपमा २१३ दिनका लागि गणना गरिएको बैंकले जनाएको छ ।

हाल बैंकको अग्राधिकार सेयरतर्फ चुक्ता पुँजी ५ अर्ब रुपैयाँ छ । त्यस्तै, साधारण सेयरतर्फ बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ २६ पैसा रहेको छ ।

बैंकले आर्थिक वर्ष २०८२/८३ मा हासिल गरेको वित्तीय उपलब्धि र निरन्तरको व्यावसायिक वृद्धिलाई आधार बनाएर सेयरधनीलाई उचित प्रतिफल दिने उद्देश्यले लाभांश प्रस्ताव गरिएको जनाएको छ ।

यद्यपि, प्रस्तावित लाभांश तत्काल वितरण हुने छैन । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त हुनुका साथै बैंकको आगामी साधारणसभाबाट प्रस्ताव पारित भएपछि मात्र लाभांश वितरण प्रक्रिया अघि बढ्नेछ ।

नबिल बैंकले हाल २६ लाखभन्दा बढी ग्राहकलाई देशभरका २६३ शाखा र ३१५ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ । चार दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय बैंकले पछिल्लो समय ग्राहक, समुदाय र समग्र अर्थतन्त्रका लागि समावेशी तथा समृद्ध भविष्य निर्माण गर्ने लक्ष्यसहित ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई अघि बढाइरहेको छ ।

तपाईको प्रतिक्रिया