साउदी अरबमा ड्रोनका अवशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु
काठमाडौं । साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा ड्रोनका अवशेष खस्दा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ। घटनामा एक भारतीय नागरिकसहित अन्य दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा नेपाली र फिलिपिनो नागरिक रहेको जनाइएको छ। तर ज्यान गुमाउने नेपालीको नाम, ठेगाना र अन्य व्यक्तिगत विवरण सार्वजनिक गरिएको छैन।
साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) को सीमा नजिकै रहेको शायबाह तेल क्षेत्रमा लक्षित गरी प्रहार गरिएको ड्रोनका अवशेष साउदी अराम्कोद्वारा सञ्चालित तेल प्रशोधन केन्द्रमा खसेका थिए।
घटनामा संलग्न पक्षबारे भने मन्त्रालयले कुनै विवरण सार्वजनिक गरेको छैन।
यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले यसअघि पनि साउदी अरबका विमानस्थल तथा अन्य महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी आक्रमण गर्दै आएका छन्। यद्यपि, पछिल्लो घटनामा ड्रोन कसले प्रहार गरेको हो भन्ने पुष्टि भएको छैन।
साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगार गन्तव्यमध्ये एक हो। त्यहाँ ठूलो सङ्ख्यामा नेपाली नागरिक विभिन्न क्षेत्रमा कार्यरत छन्। पछिल्लो घटनामा नेपाली श्रमिकको मृत्यु भएपछि उनको पहिचान र घटनासम्बन्धी थप विवरण सार्वजनिक हुन बाँकी छ।
तपाईको प्रतिक्रिया