शनिबार १२ श्रावण २०८१
बिजनेस

चार मुलुकसँगको हवाई सेवा सम्झौता असोजभित्रै टुंगिने

शुक्रबार असोज ९, २०७७/ Friday 09-25-20

काठमाडौं। सरकारले चार मुलुकसँग हवाई सेवा सम्झौताको काम असोजभित्रै टुंग्याउने भएको छ। असोजभित्रै हवाई सेवा सम्झौता तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाउने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको ह।

बंगलादेश, इन्डोनेसिया, रुस, कोरिया र फिनल्याण्डसँग सरकारले हवाई सेवा सम्झौताको तयारी गरेको छ। मन्त्रालयका अनुसार हवाई सेवा सम्झौता असोज भित्रै तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने निर्णय बिहीबार भएको छ।

यसअघि पर्यटन मन्त्रालयले भदौ दोस्रो साता यी मुलुकसँग हवाई सेवा सम्झौता प्रक्रिया थाल्ने निर्णय गरेको थियो। यी सबै मुलुकहरु समेत नेपालसँग हवाई सेवा सम्झौताका लागि इच्छुक रहेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए। खासगरी यूरोपबाट नेपालमा सिधा उडानका लागि फिनल्याण्ड नेपालसँग जोडिन चाहेको छ।

इण्डोनेसियाले त्यहाँ जाने नेपाली पर्यटकलाई सम्भावित बजारका रुपमा हेरेको छ। रुस र नेपालसमेत लामो समयदेखि हवाई सम्बन्ध स्थापनाका लागि इच्छुक छन्। सोहीअनुसार हवाई सेवा सम्झौताको प्रक्रिया अगाडी बढेको हो। नेपालले अहिलेसम्म ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ।

तपाईको प्रतिक्रिया