शनिबार १२ श्रावण २०८१
जीवनशैली

खुट्टा किन सुन्निन्छ? जानकारी र उपचार बिधी!

बिहीबार पौष २, २०७७/ Thursday 12-17-20

खुट्टा सुन्निनु (Edema) एउटा साधारण समस्या हो। यसको कारण अति सरल देखि अत्यन्तै जटिलसम्म हुन सक्छ। त्यसैले खुट्टा सुन्निएको छ भने तुरुन्तै कारणको बारेमा जाँच गर्नुपर्छ।खुट्टाको हड्डी वा गोलीगाँठो (एङ्कल) भन्दा माथि औलाले थिच्दा सुन्निएको भए चित्रमा देखाए जस्तै खाल्डो देखिन्छ। यसरी इडिमा भएको थाहा हुन्छ। औलाको टुप्पाले ३० सेकेण्ड जति खुट्टामा थिच्दा सुन्निएको छ भने थाहा हुन्छ।सुन्निएको कारणले हातको औलामा औंठी लगाउन गार्हो हुन सक्छ। जुत्ता लगाउदा गार्हो हुने, हिड्दा खुट्टा दुख्ने वा अप्ठ्यारो हुने आदि खुट्टा सुन्निएको कारणले हुन सक्छ।

एउटा खुट्टा सुन्निए पछि के गर्ने?

सामान्यतया दुईवटै खुट्टा सुन्निन्छ, तर कहिलेकाँही एउटा खुट्टा कम सुन्निएको हुनसक्छ। विशेष गरेर जतातिर फर्केर सुतिन्छ, उतातिरको खुट्टा बढी सुन्निन्छ। एउटा खुट्टा मात्रै सुन्निएको छ भने, तुरुन्तै कारण पत्ता लगाउनु पर्छ। खुट्टाको रक्तनलीमा समस्या भएमा एउटा मात्रै खुट्टा सुन्निन सक्छ। यसलाई डीप भेन थ्रोम्बोसीस भनिन्छ। रक्तनलीमा रगत जमेर, रक्तसञ्चालन नभएर एउटा मात्रै खुट्टा सुन्निन सक्छ।

खुट्टा सुन्निने के के कारण हुन सक्छन्?

खुट्टा सुन्निने धेरै कारणहरु मध्ये मुटु, मृगौला र फोक्सोको रोगहरु प्रमुख हुन्। मधुमेह, उच्च रक्तचाप र थाइराइडको कमी पनि महत्वपुर्ण कारणहरु हुन्। त्यसमध्ये पनि मुटु र मृगौला सम्बन्धी कारणहरु सबभन्दा जटिल मानिन्छन्। यसकोलागि तुरुन्तै आवश्यक जाँच गर्दा राम्रो हुन्छ।

कहिलेकाँही खुट्टा सुन्निने सामान्य कारण पनि हुनसक्छ। जस्तैः मोटोपना, गर्भावस्था, दैनिक धेरै समयसम्म उभिनु पर्ने वा एउटै स्थानमा धेरै बेरसम्म बस्नु पर्ने जस्तोकी सवारि चालक, सुरक्षा गार्ड आदि, यसकोलागि पिर गर्नु पर्दैन। यस्तो अवस्थामा कुनै उपचारको जरुरी हुँदैन। औषधिको कारणले पनि खुट्टा सुन्निन सक्छ। एम्लोडिपिन औषधीको प्रयोग र मोटोपन पनि खुट्टा सुन्निनेको प्रमुख कारणहरु हुन्। औषधी परिवर्तन गरेको १-२ हप्तामा सुन्निएको घट्छ। यसरी औषधिको प्रयोगले खुट्टा सुन्निएमा आत्तिनु हुदैन।   

१) मुटु: मुटु कमजोर हुनु (हार्ट फेलर) उच्च रक्तचाप र भल्भको रोग

२) फोक्सो: दमको रोग (सिओपिडी)

३) मृगौला: मृगौलाबाट प्रोटिन निस्कने रोगहरु (Chronic Kidney Disease, CKD) मृगौलाको काममा कमि (Kidney Failure)

४) उच्चरक्तचाप: मुटुमा असर भएपछि

५) थाइराइड: हाईपोथाइराइडीजम् (थाइराइडको कमि)

६) गर्भावस्था: सामान्य अवस्था, उच्चरक्तचाप र अन्य रोग लागेमा 

७) औषधी: रक्तचाप नियन्त्रण गर्ने औषधिहरु, एमलोडिपिन, निफेडेपीन

मुटु वा मृगौलाको कारणले सुन्निएको कसरी थाहा पाउने?

मृगौलाको कारणले सुन्निएको हो भने बिहान उठ्ने बेलादेखि नै अनुहार सुन्निएको हुन्छ र दिन बित्दैजादा सुन्निएको घट्न थाल्छ। मृगौलाको कारणले अनुहारमा बढी र खुट्टामा कम असर पर्दछ। तर जटिल अवस्थामा खुट्टामा पनि बढी असर देखिन्छ। मुटुको कारणले खुट्टामा बढी र अनुहारमा कम सुन्निएको हुन्छ। बिहानमा कम र साँझ बढी सुन्निएको देखिन्छ। खुट्टा संगसंगै हात, आँखाको वरिपरि वा अनुहार पनि सुन्नियो (Facial Puffiness) भने केही न केही समस्या हुने सम्भावना बढी हुन्छ। तर मुटुको कारण ले हो भने, मुटुको जाँच गरेपछि यो कुराको टुङ्गो लाग्छ। त्यसको लागि छातीको एक्सरे, इ.सी.जी र इकोकार्डियोग्राफी गर्नु जरुरी हुन्छ।

निम्नलिखित जाँचहरु गर्नुपर्नेः

१) मुटुको: इ.सि.जी., एक्सरे, इकोकार्डियोग्राफी

२) मृगौलाको: क्रियेटिनिन् (Creatinine), पिसावको जाँच

३) थाइरायडको: टिएसएच (TSH), टिथ्री (T3) र टिफोर (T4)

४) कलेजोको: प्रोटिन, एल्बुमिन

५) रक्तनलीको: अल्ट्रसाउण्ड

खुट्टा सुन्निएको कम गर्न अरु के गर्न सकन्छि? 

गुरुत्वाकर्षण (Gravity) को कारणले खुट्टाको रक्तनलीमा दबाब बढी हुन्छ। त्यसैले खुट्टा सुन्निने वा (Edema) हुने संभावना बढी हुन्छ।तसर्थ सकेसम्म बस्ने बेलामा खुट्टालाई टेबुलमा राख्ने र सुत्ने बेलामा खुट्टालाई एउटा सिरानीको माथि राख्नु राम्रो हुन्छ। यसबाट खुट्टा सुन्निएको कम हुन्छ।

खुट्टा सुन्निन कम गर्न पिसाब बढी लगाउने औषधिको आवश्यकता?

खुट्टा सुन्निएको कम गर्न पिसाब बढी लगाउने औषधी (लेसीक्स) सम्बन्धित विशेषज्ञलाई नदेखाइ कहिल्यै खानु हुँदैन। यसले कमजोरी गराउँछ र अचानक मुटुको समस्या पनि निम्त्याउन सक्छ।

खुट्टा सुन्नियो भने कसलाई जचाउने?

खुट्टा सुन्निएमा तुरुन्तै आत्तिनु हुदैन। खुट्टा मात्रै सुन्निनु र अरु केही लक्षण (जस्तै स्वाँस्वाँ, छाती दुख्नु, पेट पोल्नु, पिसाव कम हुनु) नहुनु लाई जटिल समस्याको रुपमा मानिदैन। यस्तो अवस्थामा जटिल कारण हुने सम्भावना कम हुन्छ। यसकोलागि योजना बनाएर डाक्टरलाई जचाँउन मिल्छ। तर माथि लेखेको कुनै पनि समस्या इडिमा संगसंगै छ भने तुरुन्त स्वास्थकर्मीसंग परामर्श लिनुपर्छ।

सामान्य चिकित्सक (General Physician)संग प्रारम्भिक जाँच गराउँदा राम्रो हुन्छ। प्रारम्भिक जाँच पड्तालमै रोग देखिएमा सम्बन्धित विषयको विशेषज्ञलाई भेटन मिल्छ।सामान्य चिकित्सकसंगै उपचार गराए पनि हुन्छ। तर धेरैजसो बिरामीको मुटुको परिक्षण गर्नुपर्ने भएकोले मुटुरोग विशेषज्ञलाई भेटनु पर्ने जरुरी हुन्छ। मृगौलाको कारणले पनि खुट्टा सुन्निने गर्दछ। प्रारम्भिक जाँचमै (पिसाव र मृगौला) मृगौलामा खराबी देखिएमा नेफ्रोलोजिष्ट (मृगौला रोग विशेषज्ञ) लाई भेट्नु जरुरी हुन्छ।

तपाईको प्रतिक्रिया