
काठमाडौं। आम धारणा अनुसार पुँजी बजारलाई पुरुष प्रधान क्षेत्रको रुपमा हेरिँदै आएको छ। तर पछिल्लो समय भने विश्व बजारसंगै नेपालकै पुँजी बजारमा पनि महिला लगानीकर्ताको चासो र सहभागिता उत्साहजनकरुपमा वृद्धि भएको देखिएको छ। हाल नेपाली सेयर बजार तेज गतिमा दौडिरहँदा प्राथमिक र दोस्रो बजार दुबैमा लगानीकर्ताको आकर्षण बढ्दो रहेको छ। यसमा पनि महिलाको आकर्षण उत्साहजनक देखिन्छ।
सीडीएस एन्ड क्लियरिङको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कुल हितग्राही (डिम्याट) खाताको संख्या २५ लाख ३ सय ४५ पुगेको छ। जसमध्ये १० लाख भन्दा बढी खाता महिला लगानीकर्ताको नाममा खोलिएको छ। यो संख्या कुल हितग्राही खाताको भण्डै ४० प्रतिशत हुन आउँछ। यो तथ्याङ्कलाई आधार मान्ने हो भने सेयर बजारमा महिला लगानीकर्ताको संख्या पनि झण्डै पुरुषकै हाराहारीमा पुग्न लागेको देखिन्छ।
नेपाल जस्तो सानो अर्थतन्त्र भएको देशमा यत्तिको संख्यामा महिला लगानीकर्ता रहनुलाई अत्यन्तै सकारात्मक मान्न सकिन्छ। त्यसो त सेयर बजारमा मात्र नभई, देशका हरेक क्षेत्रमा महिलाहरुको संलग्नता बढिरहेको छ। देशका संवैधानिक पदहरु: राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशदेखि विभिन्न संघसंस्था र कम्पनीहरुमा महिलाहरूको संलग्नता छ। स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एकजना महिला हुनुपर्ने व्यवस्था छ।
यसरी सबै क्षेत्रमा महिला सहभागि बढ्दा सेयर बजारमा पनि महिला लगानीकर्ताको संख्या बढ्नु स्वभाविक हो। यता, प्राथमिक सेयर भर्नका लागि मात्र नभई विगत केही वर्षदेखि सेयर दलाल कम्पनीहरूमा सेयरको कारोबारका लागि पुग्ने महिलाहरुको संख्या पनि बढ्दो क्रममा रहेको थियो। दोस्रो बजारमा सेयर कारोबारको समय बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुनुले पनि महिलालाई थप सजिलो बनाएको महिला लगानीकर्ताहरु बताउँछन्।
एक महिला सेयर लगानीकर्ता यसो भन्छुन्, दोस्रो बजार बिहान ११ बजेदेखि ३ बजेसम्म खुल्ने भएकाले घरधन्दा सकेर बाँकी रहेको समय सेयर बजारमा दिन सजिलो भएको छ। अहिलेको समयमा सेयर बजार प्रविधिमैत्री बन्दै जाँदा पनि महिला लगानीकर्ताको आकर्षण बढेको छ। लगानीकर्ताले घरमै बसेर सेयर किनबेच गर्न पाएका छन्। यसले अझै सहजता थपेको छ।
बिहान ११ बजेदेखि ३ बजेसम्म जुनसुकै समयमा घरमै बसेर पनि सेयर खरिदबिक्री गर्न सकिने भएकाले महिलाहरू आफ्नो घरको काम सकेर पनि आरामले सेयर कारोबार गर्ने गरेका छन्। महिलाहरूको फुर्सदको समय सदुपयोग र केही आम्दानी पनि गर्न सकिने भएकाले र बाहिरी ज्ञान पनि प्राप्त गर्न सकिने भएकाले खासगरी गृहिणीहरूको संलग्नता बढी देखिएको छ।
यसको उदाहरण स्वरुप डिम्याट खाता खोल्ने महिला लगानीकर्ताको संख्यालाई लिन सकिन्छ। तथापि, एउटा व्यक्तिले २ वटासम्म डिम्याट खोल्ने पाउने व्यवस्था भएकाले पनि यो संख्या उच्च देखिएको अनुमान गर्न सकिन्छ। बजारमा लगानीकर्ताको आकर्षण बढ्नुको मुख्य कारण भनेको दोस्रो बजारमा बढ्दो क्रममा रहेको सेयर भाउ नै हो। लक डाउनका कारण मानिसको प्रविधिसँग निकटता बढेको देखिन्छ।
यसले पनि आइपीओ र दोस्रो बजारमा लगानी गर्न थप सहज बनाएको छ। साथै सधै व्यस्त हुने मानिसले लक डाउनमा मिलेको फुर्सदका बेला सेयर बजार सम्बन्धी अध्ययन गर्न पाएकाले पनि यसतर्फ आकर्षण बढाउन सहयोग पुगेको जानकारहरु बताउँछन्। तथापि, पुँजी बजारका दायर भने अझैं फलाकिलो बनाउन अवश्यक छ।
तपाईको प्रतिक्रिया