शनिबार १२ श्रावण २०८१
बिजनेस

चन्द्रगिरीको आइपीओ शुक्रबार बाँडफाँट हुने सम्भावना

बुधबार माघ ७, २०७७/ Wednesday 01-20-21

काठमााडौं। चन्द्रगिरी हिल्स लिमिटेडको आइपीओ शुक्रबार बाँडफाँट हुने सम्भावना रहेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएको छ। क्यापिटलका अनुसार बुधबार प्रि अलोटमेन्ट सम्पन्न गरी शुक्रबार बाँडफाँट गर्ने तयारी भएको छ। यद्दपि, अन्तिम टुंगो भने लागिसकेको छैन। प्रि अलोटमेन्ट मंगलबार नै सक्ने तयारी गरिएको भएपनि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ क्लोजिङका कारण नभ्याइएको क्यापिटलले जानकारी गराएको छ।

चन्द्रागिरी हिल्सको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट सेयर बाँडफाँट हुने भएको छ। त्यसैले सेयर पाउन भाग्यमै भर पर्नुपर्नेछ। यसमा कुल २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। १२ लाख ५१ हजार १० जनाले २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताका लागि आवेदन दिएका हुन्। यो मागको तुलनामा १७.५३ गुणा बढी हो।

यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको १३ लाख ९६ हजार २२ कित्तालाई आधार मान्दा १ लाख ३९ हजार ६ सय २ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ। ११ लाख ११ हजार भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन्।

चन्द्रागिरी हिल्सले पुस २४ गतेबाट २८ गतेसम्म  सर्वसाधारणका लागि १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको थियो। यसमध्ये ४५ अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारी र ५५ अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो। 

बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यबस्था थियो। यसअघि चन्द्रागिरीले मंसिर १७ देखि पुस १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आइपीओ बिक्री गरेको थियो। कम्पनीले चन्द्रागिरी थानकोटमा केबुलकार सञ्चालन गरिरहेको छ।

तपाईको प्रतिक्रिया