शनिबार १२ श्रावण २०८१
बिजनेस

चन्द्रागिरीको आइपीओ आज १० बजे बाँडफाँड हुने

शुक्रबार माघ ९, २०७७/ Friday 01-22-21

काठमाडौं। चन्द्रागिरी हिल्सको आइपीओ आज शुक्रबार (माघ ९ गते) बाँडफाँट हुँदैछ।बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहान १० बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ। कम्पनीको आइपीओ प्रि– अलोटमेन्ट बुधबार (माघ ७ गते) नै सम्पन्न भइसकेको थियो। 

चन्द्रागिरी हिल्सको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै भर पर्नुपर्नेछ। गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ। कम्पनीको आइपीओमा कुल १२ लाख ५६ हजार ७ सय ४६ जनाले आवेदन दिएको बिक्री प्रबन्धकले जनाएको छ। त्यसमध्ये ४५ हजार ६ सय ३१ वटा आवेदन रद्ध भएर १२ लाख ११ हजार १ सय १५ वटा मात्रै योग्य आबेदन परेका छन्। 

सर्वसाधारणलाई बिक्री गरिएको १३ लाख ९६ हजार २२ कित्तालाई आधार मान्दा १ लाख ३९ हजार ६ सय २ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ। १० लाख ७१ हजार ५ सय १३ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन्।

चन्द्रागिरी हिल्सले पुस २४ गतेबाट २८ गतेसम्म  सर्वसाधारणका लागि १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको थियो।यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो।

बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यबस्था थियो। यसअघि चन्द्रागिरीले मंसिर १७ देखि पुस १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आइपीओ बिक्री गरेको थियो। कम्पनीले चन्द्रागिरी थानकोटमा केबुलकार सञ्चालन् गरिरहेको छ।

तपाईको प्रतिक्रिया