शनिबार १२ श्रावण २०८१
जीवनशैली

कोभिड-१९ विरुद्धको खोप आज सातवटै प्रदेशका भण्डारण केन्द्रमा पुर्याइने

आइतबार माघ ११, २०७७/ Sunday 01-24-21

काठमाडौं। कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज सातवटै प्रदेशका भण्डारण केन्द्रमा पुर्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रदेशबाटै जिल्ला अस्पतालमा आवश्यकताका आधारमा खोप वितरण गरिने छ।

त्यसपछि पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालक, शव व्यवस्थापनमा खटिएकाहरुलाई खोप लगाइने मन्त्रालयले जनाएको छ। सम्भवतः आगामी बुधबारदेखि नै खोप लगाउन सुरु गरिने मन्त्रालय स्रोतले बतायो।

पहिलो चरणको खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ। सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३ सय अस्पतालबाट खोप लगाइनेछ। काठमाडौं उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ।

पहिलो खोप लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए।

भारत सरकारले यही माघ ८ गते अनुदानमा नेपाललाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको थियो। माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ।

तपाईको प्रतिक्रिया