शनिबार १२ श्रावण २०८१
बिजनेस

सिटिजन्स बैंक थप आक्रामक बन्दै : लगानीकर्तालाई ‘डबल डिजिट’ लाभांश

बुधबार माघ २१, २०७७/ Wednesday 02-03-21

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा अधिकांश सूचकहरुमा आकर्षक वृद्धि गरी आफूलाई सबल बैंकको रुपमा स्थापित गर्दै गएको देखिएको छ। बैंकले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार अन्य धेरै वाणिज्य बैंकहरुको तुलनामा प्रमुख सूचकहरु वृद्धि गर्न सिटिजन्स सफल भएको देखिएको हो।

यस त्रैमासमा बैंकिङ समूहमा गैर ब्याज आम्दानीमा भएको वृद्धिलाई हेर्ने हो भने सिटिजन्स बैंक पहिलो नम्बरमा देखिएको छ।यस्तै, फरेक्स ट्रेडिङको वृद्धिमा सिटिजन्स दोस्रो नम्बरमा आएको छ। साथै, समग्र बैंकिङ सेक्टरमै वितरणयोग्य नाफामा भएको वृद्धिका आधारमा सिटिजन्स तेस्रो नम्बरमा रहेको छ। वितरणयोग्य नाफा ३६.५५ प्रतिशत वृद्धिसहित ८४ करोड ८० लाख रुपैयाँ भन्दा बढी पुगेको छ।

यता, सिटिजन्स बैंक खुद नाफा वृद्धिका आधारमा बाणिज्य बैंकहरुमा छैटौं नम्बरमा देखिएको छ। यसको खुद नाफा २७.६० प्रतिशतले बढेर ८७ करोड ५१ लाख रुपैयाँ भन्दा बढी पुगेको छ। साथै, यस त्रैमासमा दोस्रो धेरै प्रतिसेयर आम्दानी वृद्धि हुने बैंकमा पनि सिटिजन्स देखिएको छ । यसको प्रतिसेयर आम्दानी १२% ले बढेर यस त्रैमासमा १७ रुपैयाँ ८५ पैसा कायम भएको छ ।

आगामी दिनहरुमा अझै आक्रामक व्यापार विस्तार गरिने बैंकले जानकारी दिएको छ। आगामी रणनीतिहरु अझै सबल, सक्षम र आक्रामक हुने बैंकको भनाई छ।सेयरधनीहरुलाई डलब डिजिटमा लाभांश वितरण गर्दै जाने योजनासमेत बैंकले अघि सारेको छ। यसपटक पनि बैंकले ११ प्रतिशत लाभांश दिएको छ। 

तपाईको प्रतिक्रिया