शनिबार १२ श्रावण २०८१
बिजनेस

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुला

शुक्रबार माघ २३, २०७७/ Friday 02-05-21

काठमाडौं। ग्रीनलाइफ हाइड्रोपावरले आज १० बजे देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३५ लाख ९६ हजार ४०० कित्ता आइपीओ बिक्री गर्न लागेको हो।

यसमध्ये ६९ हजार ९ सय २८ कित्ता सेयर कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ७ सय ८० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको सेयरसमेत थप गरी सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। ग्रीनलाइफले दोलखा जिल्लाका स्थानीयलाई कुल १८ लाख कित्ता आइपीओ निष्कासन गर्दा १ लाख ३ हजार ६ सय कित्ताका लागि मात्रै आवेदन परेको थियो। कुल १६ लाख ९६ हजार ४ सय कित्ता सेयर बिकेको थिएन। उक्त सेयर सर्वसाधारणलाई थप गरी अहिले बिक्री गर्न लागिएको हो।  

यस आइपीओमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ। त्यस अवधिमा सबै आइपीओ बिक्री नभएमा फागुन ७ गतेसम्म बिक्री खुला हुनेछ। लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। मेरो सेयरमार्फत अनलाइनबाट पनि सेयर भर्न सकिनेछ। यसको बिक्री प्रबन्धक बीओके क्यापिटल हो।

कति कित्ताका लागि दिने आवेदन? 

पछिल्ला दिनहरुमा आइपीओमा लगानीकर्ताको अधिक आकर्षण देखिएको छ। दोस्रो बजारले रेकर्ड बनाइरहेका बेला प्राथमिक बजारमा पनि लगानीकर्ताको संख्याले नयाँ नयाँ रेकर्ड बनाउँदै गएको छ। यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ हालसम्मकै उच्च कुल १४ लाख ८१ हजार २ सय ८४ जनाले आवेदन दिएका थिए। पछिल्ला आइपीओमा परेको आवेदनलाई आधार मान्ने हो भने ग्रीनलाईफको सेयर पाउन लगानीकर्ताले भाग्यमै भर पर्नुपर्ने देखिन्छ।

न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्ने हो भने पनि जम्मा ३ लाख २५ हजार १ सय ६५ जना लगानीकर्ताले मात्र आइपीओ हात पार्ने देखिन्छ। यसआधारमा ग्रीनलाईफको आइपीओमा १० कित्ता आवेदन दिए पनि पुग्ने देखिन्छ। तर कसैलाई आफू धेरै भाग्यमानी छु भन्ने लाग्छ भने २० कित्ताका लागि आवेदन दिन सकिन्छ।

किनभने यसरी बाँडफाँट गरेर बाँकी रहने २ कित्ता सेयर २ जना लगानीकर्तालाई १/१ कित्ताका दरले थप हुनेछ। तसर्थ २ जना लगानीकर्ताले भने ११ कित्ता सेयर पाउनेछन्। विगतका आइपीओमा परेको आवेदनलाई हेरेर मात्र यो अनुमान गरिएको हो। तथापि, यसमा कति आवेदकले कति कित्ताका लागि आवेदन दिनेछन् भनेर अहिले नै अनुमान गर्नु उचित हुँदैन।

तपाईको प्रतिक्रिया