शनिबार १२ श्रावण २०८१
समाज

बागलुङमा पहिलोचरणको खोप अभियान सकियो, एक हजार ७२९ जनाले लगाए कोरोनाविरुद्धको खोप

आइतबार माघ २५, २०७७/ Sunday 02-07-21

गलकोट । बागलुङ जिल्लामा पहिलोचरणको कोरोना खोप अभियान सकिएको छ । बागलुङमा एक हजार ७२९ जनाले कोरोना कोरोनाविरुद्धको खोप लगाएका छन् । गत १४ गतेदेखि लगाउन शुरु गरेको पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइमा काम गर्ने कर्मचारी र एम्बुलेन्स चालकले खोप लगाएका हुन् । पहिलो चरणको खोप शनिबार सम्पन्न भएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो ।

जिल्लामा दुई स्थानमा खोप केन्द्र सञ्चालन गरिएको थियो । धवलागिरि अस्पताल बागलुङ र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा खोप केन्द्र चलाइएको थियो । बुर्तिबाङमा पश्चिम बागलुङका चार पालिकाका स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविका लक्ष्य गरी खोप केन्द्र सञ्चालन गरिएको खत्रीको भनाइ छ ।

पहिलो चरणमा एक हजार ७१४ लाई खोप लागउने भनिए पनि मानव सेवा आश्रममा आश्रित नागरिक र कैदीबन्दीलाई समेत खोप लगाउँदा सङ्ख्या बढी भएको खत्रीले जानकारी गराउनुभयो । मानव सेवा आश्रमका ३१ लाई र जिल्ला कारागार कार्यालयमा रहेका १२५ जनालाई खोप लगाइएको उहाँको भनाइ छ ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ३७३ र धवलागिरि अस्पताल केन्द्रमा एक हजार २०० लाई खोप लगाइएको थियो । अझै २३० जनालाई पुग्ने खोप बाँकी रहेको खत्रीले जानकारी दिनुभयो । अब केही समयपछि कर्मचारी र जनप्रतिनिधिलाई समेत खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

तपाईको प्रतिक्रिया