शनिबार १२ श्रावण २०८१
समाज

सरकारी पक्षलाई यो हप्ताभित्र सबैले बहस सक्न प्रधानन्यायाधीशको आग्रह

आइतबार माघ २५, २०७७/ Sunday 02-07-21

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दाको बहस यो हप्ता भित्र सक्नुपर्ने बताएका छन् । 

आइतबार प्रधानन्यायाधीश जबराले यो हप्ताभित्र सबैले बहस सिध्याउनुपर्ने बताएका हुन् । संसद विघटनको पक्षमा अधिवक्ता रमेश बडालले बहस सुरु गरेपछि समयको विवाद हुँदा प्रधानन्यायाधीले उक्त कुरा बताएका हुन् ।

बडाललाई जबराले बढीमा ३० मिनेटको समय दिएपछि उनले समय बढाउनुपर्ने माग गरेका थिए । जवाफमा जबराले भने, ‘तपाईंहरू हुनुहुन्छ । सभामुखको तर्फबाट र सहयोगी विद्वान् (एमिकस क्युरी) हुनुहुन्छ । यो हप्ताभित्र सबैले बहस सिध्याउनुपर्छ ।’

बडालले रिट निवेदकका कानुन व्यवसायीले पाएजति नै समय आफूलाई पनि चाहिने तर्क गरेका थिए । बडालले आफू प्रधानमन्त्रीको पक्षमा बहस गर्न आएकोले पनि थप समय पाउनुपर्ने तर्क गरेपछि जबराले भने, ‘त्यसो भन्न पाउनुहुन्न । रिट निवेदकले त फेरि पनि पाउनुहुन्छ समय ।’

प्रधानमन्त्रीलगायतका विपक्षीको तर्फबाट सुरुमा नै वरिष्ठ अधिवक्ता सुशील पन्तले जवाफ दिएको स्मरण गराउँदै जबराले अरुलाई समयसीमा हुने स्पष्ट पारे । उनले भने, ‘वरिष्ठ अधिवक्ता सुशील पन्तले ओपनिङ हो भनेर दुई दिन बोल्नुभयो । अब समयको पाबन्दी लाग्छ । तपाई २० मिनेट बोल्नुस् । हैन भने बढीमा आधा घण्टा ।’

तपाईको प्रतिक्रिया