
काठमाडौं । नेपालले आइसीसी एकदिवसीय विश्वकप लिग २ अन्तर्गतको सिरिजमा विजयी शुरुवात गरेको छ। गएराति सम्पन्न खेलमा स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको हो।
स्टल्याण्डले दिएको २९७ रनको लक्ष्य पछाएको नेपालले ४९ दशमलव ५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो। नेपालको जितमा करण केसीले शानदार ब्याटिंग गरेका थिए। करणले अविजित ६५ रन बनाउदै नेपाललाई जित दिलाए। त्यस्तै कुशल भुर्तेलले ५३, गुलशन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७, आसिफ सेखले २० रन बनाएका थिए।
स्कटल्याण्डका लागि ब्रेण्डन मक्कमलेनले ३, माइकल लिस्क र ज्याक जार्भिसले समान २ तथा जसपर डेभिडसनले १ विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै २९६ रन बनाएको थियो। स्कटल्याण्डका लागि चार्ली टीरले सर्बाधिक ८० रन बनाए भने फिनाली म्याकरीथले ५५ रन बनाएका थिए। त्यस्तै कप्तान रिची बेरिंगटनले ४० र म्याथ्यु क्रसले ३९ रन बनाएका थिए।
नेपाली बलर रिजन ढकाल, करण केसी र सोमपाल कामीले २–२ विकेट लिएका थिए भने सन्दीप लामिछानेले एक विकेट लिए।
यो जितपछि नेपालको लिग–२ मा १३ खेलमा ८ अंक भएको छ र नेपाल एक स्थान माथि उक्लिदै सातौं स्थानमा पुगेको छ।
अब यस सिरिज अन्तर्गत नेपालले अर्को खेल भोलि नेदरल्याण्डससँग खेल्ने छ।
तपाईको प्रतिक्रिया