
धनगढी । अछामको रामारोशन गाउँपालिका–७ मा जङ्गली च्याउ खाँदा तीन जना बालबालिका बिरामी परेका छन्। घर नजिकैको जंगलमा खेल्ने क्रममा उनीहरूले विषालु च्याउ खाएका थिए।
बिरामी पर्नेमा तारा भण्डारीका दुई वर्षीय छोरा युवराज भण्डारी, चार वर्षीया छोरी रितिका भण्डारी तथा चेतमान भण्डारीका चार वर्षीय छोरा जीवन भण्डारी रहेका छन्।
तीनै जनालाई तत्काल बयलपाटास्थित न्याय हेल्थ अस्पताल लगिएको र हाल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
प्रहरीले खाएको च्याउ विषालु भएको पुष्टि गर्दै वर्षायाममा जङ्गली च्याउ खानु अघि विशेष सावधानी अपनाउन अभिभावकलाई आग्रह गरेको छ। बर्खायाम सुरु भएसँगै सुदूरपश्चिमका पहाडी क्षेत्रमा जङ्गली च्याउ खोजीखोजी खाने प्रचलन रहेको छ।
तपाईको प्रतिक्रिया