गण्डकीमा राइड सेयरिङ रोकियो, सरकार फेरि व्यवसायीमाझ झुक्यो

पोखरा । गण्डकी प्रदेश सरकारले लागू गर्न लागेको राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा सम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गरिएको छ। यातायात व्यवसायीको आन्दोलन र दबाबका कारण सरकारले दोस्रो पटक नियमावली कार्यान्वयन रोक्न बाध्य भएको हो।
सरकारले ३० वैशाखमा नियमावली जारी गरे पनि व्यवसायीले १६ र १९ गते सार्वजनिक यातायात ठप्प पार्दै विरोध गरे। संघीय सरकार र व्यवसायीबीच भएको सहमति अनुसार गण्डकी सरकारले नियम एक महिनाका लागि स्थगन गर्ने निर्णय गरेको हो।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यो समय वार्ताका लागि दिइएको भन्दै सहमति नभए लागू गर्ने चेतावनी दिएका छन्। संघीय सरकारले हस्तक्षेप गरेको भन्दै संविधान र संघीयताको मर्ममा चोट पुगेको आलोचना भएको छ।नियमावलीले राइड सेयरिङ गर्न २० वटा सवारी अनिवार्य, इजाजतबिना सेवा गरेमा १ लाख रुपैयाँसम्म जरिवाना, दुईपांग्रे सवारीलाई २० किलोमिटर दूरीसम्म सेवा दिन पाउने लगायतका प्रावधान समेटिएको छ।
राइड सेयरिङ कम्पनीहरूले सरकारलाई नझुक्न आग्रह गरेका छन्, नत्र चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।
तपाईको प्रतिक्रिया