शनिबार १२ श्रावण २०८१
मनोरन्जन

जय हो’ को प्रचारमा व्यस्त सलोन

सोमबार श्रावण ८, २०८०/ Monday 07-24-23

काठमाडौ । अभिनेता सलोन बस्नेत यतिबेला आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जय हो’को प्रचारमा निकै व्यस्त छन् ।

सिनेमा रिलिजको लागि अष्ट्रेलिया उड्न लागेका उनी अहिले विभिन्न कार्यक्रममा सहभागी भएर सिनेमाको प्रचार गरिरहेका छन् ।

यसैबीच आइतबार सलोन अभिनेत्री केकी अधिकारी र सिनेमाका प्रस्तुतकर्ता शोभित बस्नेतलाई लिएर प्रज्ञा भवन पुगेका थिए । त्यहाँ एपेक्स कलेजले एक दिने कार्यक्रमको आयोजना गरेको थियो । कलेजले हरेक वर्ष गर्ने एक दिने सांस्कृतिक कार्यक्रममा सिनेमाको टिम पुगेको हो ।

अभिनेता सलोन त्यहाँ पुगेर विद्यार्थीसँग अन्तरक्रिया गर्नुका साथै आफूले आजसम्म अभिनय गरेका सिनेमा संवाद बोलेर दर्शकलाई मनोरञ्जन गराएका थिए । उनले विद्यार्थीमाझ गीतसमेत गाएका थिए ।

यस्तै अभिनेत्री केकी अधिकारीले पनि सिनेमाको बारेमा जानकारी दिँदै आगामी भाद्र ८ गते रिलिज हुने सिनेमा हेरिदिन आग्रह गरेकी थिइन् ।

सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । सिनेमामा सलोन र केकीका अलावा अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

सिनेमामा सम्राट बस्नेत द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, गौतम राज खड्काको सहसम्पादन, समीर मियाँको भिएफएक्स रहेको सिनेमाका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् ।

मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा खिचिएको सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

कमेडी, एक्सन र लभस्टोरीको सम्मिश्रण रहेको सिनेमाका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमालाई उपत्यकामा डिसिएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

तपाईको प्रतिक्रिया