कुलमानलाई सरकारले हटाउँदा प्रचण्डको मुटुमा गोली लागेको जस्तो गर्नुभयो : योगेश भट्टराई

काठमाडौं। नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मुटुमै गोली लागेको जस्तो भइरहेको टिप्पणी गरेका छन् ।
आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कर्मचारी हटाउन पाउनु सरकारको अविशिष्ट अधिकार रहेको बताए । उनले प्रचण्डलाई आफूले प्रधानसेनापतिदेखि मुख्यसचिवसमेतलाई हटाएको समरण गर्न आग्रह गरे ।
‘केही कर्मचारीलाई सरकारले हटायो । यो सरकारको अविशिष्ट अधिकार पनि हो । यसमा समीक्षा गर्न सकिएला । तर म कमरेड प्रचण्डलाई भन्न चाहन्छु– तपाईँले प्रधानसेनापतिलाई नै हटाउनु भएको थियो त ? एक पटक सम्झिनु त अस्तिको कार्यकालमा काम गरिरहेको मुख्य सचिवलाई हटाउनु भयो । अनि अर्को मुख्यसचिव ल्याउनुभयो । यस्तो त गर्नुभयो त ? अनि केपी ओली नेतृत्वको सरकारले एउटा सहसचिवलाई हटाउँदा तपाईको मुटुमै गोली लागेको जस्तो किन भएको छ ? यो त मुटुमै गोली लागेको जस्तो भयो नि त,’– उनले भने ।
साथै, उनले प्रचण्डले वर्तमान सरकार अप्राकृतिक, स्वार्थ समूह र विचौलियाले बनाएको भनी गरेको टिप्पणीप्रति आपत्ति जनाए । प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री भन्दा प्राकृतिक र ओली सोही धाराअनुसार प्रधानमन्त्री बन्दा अप्राकृतिक भन्ने हुन नसक्ने उनको दाबी छ । उनले प्रचण्डलाई सिसाको घरमा बसेर अरुको घरतिर ढुङ्गा नहान्न आग्रह गरे ।
तपाईको प्रतिक्रिया