आइतबार २३ बैशाख २०८१
बिजनेस

पोखरा उपत्यकामा पुस २५ र २६ गते जलपक्षी गणना

सोमबार पौष २३, २०८०/ Monday 01-08-24

कास्की । पोखरामा यही पुस २५ र २६ गते हिउँदे आगन्तुक तथा पानीमा आश्रित पक्षीको गणना गरिने भएको छ । समसार, तालतलैया, नदीनालामा आश्रित जलपक्षीको अवस्था, हिउँदे आगन्तुक जलपक्षीको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले पक्षी गणना गरिने भएको हो ।

पानीमा आश्रित तथा हिउँदे आगन्तुक जलपक्षीको सङ्ख्या र तिनका विभिन्न प्रजातिको विवरण पत्ता लगाई स्थानीय समुदाय र सरोकारवाला निकायको सहभागितामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ जलपक्षी गणना गर्न लागिएको पोखरा उपत्यका क्षेत्रीय संयोजक एवम् पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा सन् १९८७ देखि जलपक्षी गणना शुरु गरिएको हो ।

सन् २००४ देखि पोखरा उपत्यकामा टाइगर माउन्टेन पोखरा लजको अगुवाइमा जलपक्षी गणना गरिँदै आइएकोमा सन् २००७ देखि पथप्रर्दशकको सहभागितामा नेपाल पक्षी संरक्षण सङ्घअन्तर्गत वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका विद्यार्थी र सन् २०१५ देखि पोखरा पक्षी समाजको प्रत्यक्ष संलग्नता गणना थालिएको घिमिरेले बताउनुभयो ।

उपत्यकाले जलपक्षी गणनाको २० औँ वर्षमा प्रवेश गरेको भन्दै पछिल्लो समय जलपक्षीको सङ्ख्या तथा प्रजातिमा धेरै हेरफेर रहेको लजका नेचुरलिस्ट झलक चौधरीले बताउनुभयो। उहाँका अनुसार विश्वमै दुर्लभ रहेका ४२ प्रजातिका पक्षीमध्ये १३ जलपक्षी रहेका छन् ।

पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका ५० भन्दा बढी ठाउँमा जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तासम्म जलपक्षीको गणना गरिने एसियन वाटरफल सेन्ससका नेपाल प्रतिनिधि डा. हेमसागर बरालले जानकारी दिनुभयो ।

पुस २५ गते कमलपोखरी, विजयपुर खोला, गुँदे, खास्टे, न्यूरेनी, दिपाङ, मैदी, बेगनाश र रुपातालमा र २६ गते फेवाताल र सिमसार क्षेत्रमा जलपक्षी गणना गरिने समाजका अध्यक्ष घिमिरेले बताउनुभयो ।

 

 

तपाईको प्रतिक्रिया