Skip This
बिहीबार १८ पौष २०८१
राजनीति

रावल र भुसाललाई विष्णु रिमालको चुनौती : ह्याउ भए आफ्नो घर बनाएर देखाऊ !

आइतबार पौष १४, २०८१/ Sunday 12-29-24

काठमाडौं । सत्तारुढ नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई आइतबार बिहानै सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन् ।

एमाले उपमहासचिव रिमालले कविताको शैलीमा स्टाटस लेख्दै भुसालको नाम नलिईकन उनीविरुद्ध शब्दका वाण प्रहार गरेका हुन् । एमाले छाडेर एकीकृत समाजवादीको महासचिव बनेका भुसालले शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी क्रममा भर्खरै एमालेबाट निष्काशित भीम रावललाई आफ्नो पार्टीमा आउन आह्वान गर्दै केपी शर्मा ओली पार्टी नेतृत्वबाट हटे मात्र एमालेभित्रको उकुसमुकुस शान्त हुने टिप्पणी गरेका थिए।

भुसालले भनेका थिए, ‘भीम रावल कमरेड त्यहाँबाट निक्लिनु भयो वा निकालियो, त्यो अवस्था छँदै थियो । नेकपा एमालेभित्र प्रश्न उठाएपछि मैले धेरै अघि भनेको थिएँ । त्यतिखेर व्यक्तिगत विरोध, प्रतिशोधका रूपमा लिइयो, कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन् । एक खालका मान्छे उहाँका शत्रु हुन् । अर्का खालका मान्छे चाकर हुन् । भीम रावलले चाकरी गरेनन् ।’

एमालेभित्र धेरै नेता उकुसमुकुसमा रहेको टिप्पणी गर्दै भुसालले भनेका थिए, ‘नेपालमा पार्टी नभएर दुःख पाएको हो की पार्टी राम्रो नभएर हो भन्दा राम्रो पार्टी नभएर दुःख पाएको हो । म (भीम रावललाई) हाम्रो पार्टीमा आउन आह्वान गर्दछु।’

त्यसैको भोलिपल्ट अर्थात् आज आइतबार बिहानै एमाले उपमहासचिव रिमालले ‘उनी पो निसासिए रे !’ बाट सुरु गरेर कवितात्मक शैलीमा कटाक्ष गरेका हुन् । भुसाल पार्टी (एमाले) भित्र जहिले विवादको निहुँ खोजिरहने गरेको आरोप लगाउँदै रिमालले लेखेका छन्, ‘पार्टीभित्र सधैँ उनी विवादका लागि मौकाको खोजीमा रहे, अनवरत ‘किचकिच’ गरेर बसिरहे ।’

पार्टी विभाजनका बेला भुसाल फेरि ‘लुसुक्क एमालेमा छिरेको’ टिप्पणी गर्दै रिमालले अगाडि लेखेका छन्, अहिले फेरि उनलाई लागेछ क्यारे, कतै ‘टाँड’ पो पर्छ कि ?! कतै औँला घुसार्न पो मिल्छ कि ?! अनि भन्न थालेछन् फेरि– ‘ओलीले छोड्नुपर्छ, उकुसमुकस भएको छ ।’ रिमालले भुसाललाई आफ्नो पार्टी नै बनाएर देखाउन चुनौती दिएका छन् ।

उनले लेखेका छन्, ‘अरे यार ! ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर ! आफ्नो घरको मझेरीमा, आँगनमा, गन्द्रयाङ, गुन्द्रुङ गरिरेहका तिम्रा ‘हाँडाभाँडा’ हरू बज्न नदेऊ न ! ढोका खोलुन् कि छेस्किनी लाउन्, अरूले उनीहरूका घरमा, जे गरुन्–बाल मतलब !’

रिमालले रावललक्षित टिप्पणी यसरी गरेका छन् 

उनी पो निसासिए रे !

उननचालीस सालदेखि यता 

हामी निरन्तर पार्टी सङ्गठन निर्माणमा लागि रह्यौँ,

पार्टी भित्र सधैँ उनी—

विवादका लागि मौकाको खोजीमा रहे,  

अनवरत ‘किच–किच’ गरेर बसिरहे।

प्रत्येक चुनौती चिर्दै 

पार्टीले उचाइ छोएको बेला, 

सुरु भएको विवादमा,

हामी एकताको पक्षमा उभियौँ, 

उनले विभाजनको बाटो रोजे ।

बाटो मात्र रोजेनन्, 

त्यस समूहलाई पनि बिचमै छोडे– अन्तै दौडिए।

’आदर्श’का गफ र ’अर्ति–उपदेश’का पोका बोकेर यताउता गरिरहे ।

एक समय फेरि आयो, 

पार्टीमा बहस–विवाद सुरु भयो ।

’जोरीपारी’हरु– 

‘एमाले विनाको राजनीति’को खेतीमा लागे,

उनी ’ओली विनाको एमाले’ भन्दै उफ्रिए ।

विभाजनको लागि कसैलाई उचाले– 

एकता भन्दै आफू अर्कातिर अल्झिए ।

मौसम छ्याङ्ग भएपछि, 

फेरि नयाँ चुनौती सामना गर्ने बेलामा—

छोडे, दौडिए— पार्टीकै विरुद्ध खनिए ।

सानै सही—

असहमत ’अरूहरू’ले दुःखैले बनाएको घरमा

लुसुक्क छिरे– 

‘बन साङ्ला’ले ’घर साङ्ला’लाई लखेटे झैँ

उल्टै हाकिम पल्टिए ।

अहिले फेरि उनलाई लागेछ क्यारे–

कतै ‘टाँड’ पो पर्छ कि?!

कतै औँला घुसार्न पो मिल्छ कि?!

अनि भन्न थाले छन् फेरि–

‘ओलीले छोड्नु पर्छ, उकुसमुकुस भएको छ ।’

अरे यार !

ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर !

आफ्नो घरको मझेरीमा, आँगनमा, 

गन्द्रयाङ, गुन्द्रुङ गरिरहेका तिम्रा ‘हाँडा–भाँडा’हरू 

बज्न नदेऊ न !

ढोका खोलुन् कि– छेस्किनी लाउन्,

अरूले उनीहरूका घरमा, 

जे गरुन्–बाल मतलब !

तपाईको प्रतिक्रिया