आइतबार २३ बैशाख २०८१
राजनीति

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

बिहीबार बैशाख १३, २०८१/ Thursday 04-25-24

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन् । 

बिहीबार राष्ट्रिय विकास परिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६औँ योजना केन्द्रित हुने बताएका हुन् । 

“पर्यटन प्रवर्द्धन र आन्तरिक रोजगार अभिवृद्धि एवं एकीकृत बस्ती विकासमा उच्च प्राथमिकता दिनुपर्नेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसका लागि योजनाले स्वदेशी तथा वैदेशिक लगानी अभिवृद्धिसहित युवा केन्द्रित सुरूआती पुँजी लगानीमार्फत् नविनतम र उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ ।”

आर्थिक समृद्धिको संवाहककाे रूपमा निजी क्षेत्रलाई आत्मसात गर्दै सहकारी, सामुदायिक एवं गैरसरकारी क्षेत्र र विकास साझेदारलाई सहयोगी भूमिकामा योजनाले अंगीकार गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सोच, लक्ष्य र लगानीको अनुमान उपयुक्त हुनेगरी योजना तयार हुने विश्वास व्यक्त गरे । 

योजना सफल कार्यान्वयनका लागि तीनै तहका सरकारको सहकार्य, सहयोग र समन्वय अपरिहार्य रहनुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले पर्याप्त लगानी तथा सार्वजनिक खर्च जुटाउनका लागि सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्नेमा जोड दिए । 

“योजना अवधिमा विभिन्न स्रोतको साथै निजी क्षेत्रको ठूलो लगानीको अनुमान गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यस क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन लिइएका लक्ष्य, उद्देश्य तथा रणनीतिबाट योजना अवधिमा लगानी, उत्पादन, उत्पादकत्व र रोजगारी अभिवृद्धि गरी आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने अपेक्षा छ ।”

सबै पक्षलाई समेटेर नियमित र नतिजामूलक अनुगमन तथा मूल्यांकन प्रणाली विकास गरी कार्यान्वयनमा जोड दिनुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले अब आर्थिक सुधारको एकीकृत ढाँचा राष्ट्रिय योजना आयोगले सबै निकायको समन्वयमा तयारगरी कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे । 

तपाईको प्रतिक्रिया